धादिङ साउन २०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी गराउने मन्त्री छान्न आफू पक्षधर नेताहरुको बैठक बोलाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीको छनोट गर्न देउवाले आफू पक्षधर नेताहरुलाई छलफलका लागि बूढानिलकण्ठस्थित निवासमै बोलाएका छन्। देउवा पक्षधर नेताहरुको जारी वैठकमा नेताहरु बिमलेन्द्र निधि, अर्जुनरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँण लगायत नेताहरु सहभागी छन्।
सरकारमा मन्त्री पठाउँदा आफ्नो पक्षलाई वेवास्ता गरिए नराम्रो हुने चेतावनी दिँदै आएको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाउन देउवालाई केही दिन अघि दबाब दिएपनि केन्द्रीय समितिको बैठक बोलाएका छैनन्।
बिहीबार दिउँसो नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिन लागेकाले आफ्नो पार्टीका तर्फबाट कसलाई सरकारमा पठाउने भन्ने विषयको टुंगो लगाउने र मन्त्रीहरुको सूची तयार गर्ने बैठकमा सहभागी एक नेताले बताए। बाँकी मन्त्री नेविसंघको महाधिवेशनपछि मात्रै पठाउने तयारीमा देउवा छन्।