धादिङ साउन १२
बाढीपहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ५० जना बेपत्ता भएका छन् । पहाडी क्षेत्रमा पहिरोका कारण बस्ती जोखिममा पर्दा धेरै विस्थापित भएका छन् । तराई क्षेत्रमा बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । गृह मन्त्रालयले २८ जनाको ज्यान गएको १० जना घाइते भएको र २४ जना बेपत्ता भएको पुष्टि गरेको छ ।
पाल्पामा पहिरोले घर पुर्दा एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको छ । पहिरोले धेरै घर जोखिममा परेको प्रहरीले जनाएको छ । त्यस्तै मकवानपुरको भिमफेदीको सोलाभन्ज्याङमा पहिरोले पुरीएर टेकबहादुर रुम्बा, उहाँकी श्रीमती पार्बती र छोरा विकासको ज्यान गएको प्रहरीले जनाएको छ ।
बाढीले अहिलेसम्म सवैभन्दा धेरै प्यूठानमा १७ जनाको ज्यान गएको छभने २० जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोले पुर्दा गुल्मीमा सात जनाको ज्यान गएको छ । हस्तिचौर गाविस मल्दीमा एकै परिवारका तीन, ह्वाङ्दी– ३ का दुई जना र बिसुखर्कका दुई जनाको ज्यान गएको छ ।
राप्ती नदीमा १२ वर्ष यताकै ठूलो बाढी आउँदा दाङलगायत पश्चिमी नेपालको जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै पहिरोले घर बगाउदा रोल्पाको गुम्चालकी २ वर्षकी सुनिता विकको ज्यान गएको छ । पोखराको हेम्जामा बालुवा निकाल्न गएकी मोतीकला छन्त्याललाई सेती नदिले बगाएको छ । बाँकेको राप्तीनदीमा पानीको सतह खतराको संकेत भन्दा धेरै माथि पुगेपछि उद्दारका लागि सम्पूर्ण सुरक्षा निकाय परिचालन गरिएको छ । राप्ती नदीको दुबैतर्फबाट घेरिएको होलियाको चौफेरीका झण्डै दुई सय ५० जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्दार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
रामेछापको भुजीमा पहिरोले पाँच घर पुरिएको छ । १२ भन्दा धेरै घर जोखिममा परेका छन् । बाढीका कारण काठमाडौंको टेकुको बंशिघाटमा रहेको सुकुम्बासी बस्ती र बल्खुको सुन्दरीघाटका बस्ती डुवानमा परेका प्रहरीले जनाएको छ । यस्तै, भक्तपुर र मध्यपुरथिमी नगरपालिका क्षेत्रको बिभिन्न भाग डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर, सल्लाघारी क्षेत्रका धेरै घर डुबानमा परेका हुन् ।
अर्घाखाँचीको ठाडामा पहिरोमा परि शारदा घर्तीको तथा सिद्धारामा मानकुमारी आलेको ज्यान गएको छ । बाग्लुङमा पहिरोमा पुरिएर ८ वर्षकी तुजी तामाङको ज्यान गएको छ । बाग्लुङमा १७ वटा भन्दा बढी घर बाढीले बगाएको तथा पहिरोले पुरेको छ । बागलुङ–गुल्मी जोड्ने ग्वालीचौरको झोलुङ्गे पुलसहित दर्जनौ पुल पनि बगाएको छ । बुर्तिबाङ र आसपासका डेढ दर्जन भन्दा बढी लघु जलबिद्युत आयोजना बन्द भएका छन् । त्यस्तै बाढी र पहिरोका कारण पूर्वी नेपालमा तीन जनाको ज्यान गएको छ । धेरै गाविस डुबानमा परेका छन् ।
नारायणी पश्चिम राप्तीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ । नदी आसपासका हजारौ बासिन्दा ज्यान जोगाउन नजिकैको जंगलमा बसिरहेका छन् । रुपन्देहीमा कञ्चन खोलाले बगाउँदा फुलबारीका छबिलाल गाहा र उहाँकी श्रीमती हुमकलीको ज्यान गएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । तिनाउ नदीमा आएको बाढीले बुटवलको देवी नगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल र प्रगतीनगरमा ६ वटा घर पनि बगाएको छ । बाडगंगा नदीमा बाढी आएपछि कपिलवस्तुमा दुई सयभन्दा बढी घर डुवानमा परेका छन् ।
बर्दियामा बबई नदी गाउँ पस्दा दुई सय घर डुवानमा परेका छन् । बर्दियाको, बबइ नगरपालिकाको खैलार, बनकट्टीका दुई सय घर डुवानमा परेका छन् । खैलारका २० घरका ६५ जनालाई प्रहरीले उद्दार गरेको छ । बबई नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, नेपाली काँग्रेसले बाढी पहिरो पीडितलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ । पीडितलाई सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको छ ।
मंगलबार देशका धेरैजसो ठाउँमा पानी परेको छ । राति पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार सबैभन्दा धेरै पोखरामा २ सय ६३ मिलिमिटर पानी परेको छ । यस्तै विरेन्द्रनगरमा २ सय २८, लुमलेमा २ सय १६, नेपालगंजमा ८५, धनगढीमा ७५, दाङमा ९६, काठमाडौंमा ८६, विराटनगरमा ५६ र धरानमा ५५ मिलिमिटर पानी परेको छ । बुधबार पनि देशका अधिकांश ठाउँमा पानी पर्ने र पूर्वी तथा पश्चिमी भेगमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।