धादिङ साउन ९
शुक्रबारदेखि सुरु भएको अविश्वास प्रस्तावमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका सांसदले आआफ्नै तर्क प्रस्तुत गरेका छन् । व्यवस्थापिका संसदमा पेश भएको अविश्वास प्रस्तावमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिनुहुनेछ । सबै सांसदको बोल्ने क्रम सकिएपछि प्रधानमन्त्रीले जवाफ दिने र त्यसपछि मतविभाजन सुरु हुने संसद सचिवालयले जनाएको छ ।
अविश्वास प्रस्तावका प्रस्तावक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमाथि सुरु गर्नुभएको घोचपेच कांग्रेस र मधेसी मोर्चाका सांसदले पनि निरन्तरता दिइरहेका छन् ।
प्रचण्डले ओलीलाई एकलौटी सरकार सञ्चालन गरेको आरोप त लगाउनुभएको छ नै, संघीयता मन नपराउने नेता भनेर पनि टिप्पणी गर्नुभएको छ । सत्तामा लिसो झैं टाँसिन खोज्ने, खोक्रो राष्ट्रवाद देखाउने, कार्यकर्ता भर्ना गर्ने, भूकम्प पीडितको लागि केही गर्न नसक्ने भनेर कांग्रेस र माओवादीका सांसदहरुले ओलीको खोइरो खनेका छन् । एमालेकै माधवकुमार नेपालले समेत घुमाउरो पारामा गुटबन्दी गरेको आरोप लगाउनुभएको छ ।
संसदमा सत्तापक्ष र प्रतिपक्षबाट आएका आरोप र टिप्पणीलाई प्रधानमन्त्री ओलीले ध्यानपुर्वक सुन्नुभएको छ । प्रचण्डले बोलेका केही कुरालाई त उहाँले टिपोट पनि गर्नुभएको छ ।
भाषण गर्दा चोटिला शब्द र व्यंग्यवाण प्रहार गर्न खप्पिस प्रधानमन्त्री ओलीले आइतबार संसदमा आफूमाथि लागेको आरोप र अविश्वास प्रस्तावलाई कसरी खण्डन गर्नुहुन्छ भनेर धेरैले चासो दिएका छन् । स्वयं कांग्रेस र माओवादीका शीर्ष नेताहरु पनि प्रधानमन्त्रीको सम्बोधन पर्खेर बसेका छन् ।
आउला राजीनामा ?
अविश्वास प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले राजीनामा दिन सक्ने एकथरीको अनुमान छ । उहाँले राजीनामा दिएमा नयाँ सरकार गठन प्रक्रियालाई लिएर देखिएको विवाद हल हुन्छ । तर प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ कि हुँदैन भन्ने कुरा उहाँ निकट नेता र सहयोगीले समेत भन्न सकेका छैनन् ।
यसअघि एमालेकै माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरुले राजीनामा दिन सुझाव दिएका थिए । तर ओलीले अविश्वास प्रस्तावको सामना गर्ने भनेपछि एमालेले संस्थागत रुपमै यसको समर्थन ग¥यो । अहिले ओली र उहाँ पक्षका नेताहरु अविश्वास प्रस्ताव पारित भएपनि नयाँ सरकार गठनको लागि संवैधानिक अड्चन देखिएकाले संविधान संशोधन या बाधा खड्काउ फुकाउको बाटोबाट अघि बढ्नुपर्ने अडानमा छन् ।
त्यसैले ओलीले राजीनामा नदिइकन यो अडानमा रहने संकेत पनि देखिएको छ । यस्तो हुँदा दलहरुबिचको विवाद फेरि बढ्ने देखिन्छ ।