धादिङ साउन ६
आजको संसद बैठक ११ बजेका लागि बोलाइएको छ ।बजेटका विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि संसदमा छलफल गर्ने भन्ने विषयमा दलहरु आ आफ्नै अडानमा रहेपछि आज बोलाइएको संसद बैठक अनिश्चित बनेको छ ।
दलहरुले आ आफ्नो अडान नछाड्दा आजकोको संसद बैठकमा के हुन्छ भन्ने अन्यौल बढेको छ । संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मर्यादा पालकको संख्या बढाइएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचिमा छलफल हुन नसक्ने अडान राखेका छन् । उता सत्ता नेतृत्व गरेको एमालेले भने अविश्वासको प्रस्तावअघि बजेटसँग सम्बन्धित बिधेयकमाथि छलफल चलाउनका लागि दबाब दिने निर्णय गरेको छ । जसका कारण संसद भीडन्तमा परिणत हुने देखिएको छ ।
दलहरुबीचको विवादमा संसदभित्र अप्रिय घटना हनु नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या बढाएको छ ।
यसअघि ९०१ जना खटिँदै आएकोमा आजको बैठकका लागि थप ३० जना मर्यादा पालक खटाइन लागेको छ ।