धादिङ साउन ५
संसदीय दलको बुधबारको बैठकले पार्टी निर्णयको पक्षमा उभिदै संसदमा हुन सक्ने सबै खालका गतिविधिको एकजुट भएर सामना गर्न सांसदहरुलाई निर्देशन दिएको छ ।
सत्तारूढ एमालेले बजेटसम्बन्धि आश्रित विधेयक पारित गर्ने कार्यसूचि तय नगरे संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढ्न नदिने भएको छ ।
नयाँ गठबन्धनकारी दलहरु कांग्रेस–माओवादी केन्द्रको जोडबलमा बजेट सम्बन्धि विधेयक पारित गर्ने पूर्वनिर्धारित कार्यसूचि सभामुख ओनसरी घर्तीले एकतर्फी रुपमा हटाएको भन्दै एमालेले आपत्ति जनाउदै आएको छ । घर्तीले असार २९ र ३१ गतेको संसदको बैठकका लागि तय भएको कार्यसूचि हटाएर बिहीबारका लागि आविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउने गरी बैठक बोलाएकी छन् ।
सभामुखले निर्धारण गरेअनुसार बिहीबार संसदमा अविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउने कार्यसूचि छ । यदी यो प्रस्ताव अघि बढाउने प्रयास भए एमालेले त्यसलाई रोक्ने रणनीति अनुसार सांसदहरुलाई तयारी अवस्थामा रहन भनेको हो ।
‘संविधान नियम र संसदमा स्थापीत अभ्यासअनुसार यसअघि २९ र ३१ गतेका तय भएको कार्यसूचि अघि बढाउनुपर्छ’ बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने,‘ सम्मानीय सभामुख आफैले निर्धारित गररेको कार्यसूचि अघि नबढीरहेको सन्दर्भमा हामीले उहाँलाई यो बिषय अघि बढोस् भनेर ध्यानाकर्षण गराउने निर्णय गरेका छौ ।’ नियमति अधिवेशन बसिरहेको बेलामा जुन कार्यसूची तय भएको छ त्यसलाई नै प्राथमिकताका आधारमा क्रमश: टुंगो लगाउने गरेको विगतको अभ्यास रहेकाले त्यसलाई अहिले पनि निरन्तरता दिनुपर्ने धारणा एमालेको छ ।