धादिङ साउन ५
भोली साउन ६ गते विहानसम्म प्रमुख दलहरुवीच कुनै सहमति भएन भने विहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठक तनावपूर्ण हुने देखिएको छ । सभामुख घर्तीले विहीबार बिहान ११ बजेको संसद बैठकमा सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने यसअघि नै तय गरिसकेकी छन् ।
जतिबेला संसदमा विनियोजन विधेयकसँग सम्वन्धित तीनवटा विधेयक छलफलको चरणमा थिए, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ती विधेयक पास हुन सकेका छैनन् ।
कांग्रेस र माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र त्यसमा पहिले छलफल हुनुपर्ने अडान राख्दै आएका छन् । एमाले चाँहि अविश्वासको प्रस्तावमा छलफल हुनुभन्दा पहिल्यै कार्यसूचीमा चढाइएका आर्थिक विधेयकहरु पारित गरिनुपर्ने पक्षमा छ ।
अहिले कांग्रेस-माओवादी र एमालेबीच कुखुरा पहिला कि अण्डा भने जस्तै गरी विनियोजन विधेयकसँग सम्वन्धित तीन विधेयक पहिला कि अविश्वासको प्रस्ताव पहिला भन्ने विवाद देखा परेको छ ।
यसबीचमा सभामुखले एक्लै गरेको पहलबाहेक तीन दलले सहमति खोज्न आवश्यक ठानेको पनि देखिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि पहल गर्नुका साटो सार्वजनिक मञ्चबाटै सभामुखमाथि प्रश्न उठाउने र धम्की दिने काम जारी राखेका छन् ।
अघिल्लो दिन सभामुखसँग भेटेर नरमरुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले बुधबार पार्टीको भ्रातृ संगठनको कार्यक्रमबाट संसदमा अविश्वासको प्रस्ताव पेश हुन नदिने चेतावनीपूर्ण अभिव्यक्ति दिए ।
प्रधानमन्त्रीले एमालेको संसदीय दलको बैठक राखेर विनियोजन विधेयकसँग सम्वन्धित तीन विधेयक पहिला पेश नभए संसद अवरुद्ध गर्ने निर्णय गराइसकेका छन् ।
कांग्रेस र माओवादीले पनि पार्टीको बैठक बसेर पहिला अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने अडान दोहोर्याएका छन् । यद्यपि तीन विधेयक र अविश्वासको प्रस्तावलाई एउटै कार्यसूचीमा राख्न दिने भनेर कांग्रेस र माओवादीले केही लचकता पनि देखाएका छन् ।
दलहरु आफ्नो अडानबाट टसमस नभएका कारण सभामुखको दौडधूप र सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।
यद्यपि दलहरुसँग विहीबार बिहान १० बजेसम्म सहमतिमा पुग्न सक्ने समय चाहिँ घर्किइसकेको छैन ।
तर, अनौठो के छ भने दुबै पक्ष कांग्रेस-माओवादी र एमालेले आपसमा बसेर सहमति खोज्न चाहेका छैनन् । भोलिका दिन फेरि सहकार्य चाहिन्छ भन्नेसमेत बिर्सिएझै गरेर उनीहरु चर्को स्वरमा आ-आफ्नै अडान दोहोर्याइरहेका छन् ।