साउन १० गते नेपाल बन्दको घोषणा,२ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम

Avatar photo
Dhadingpost
शुक्रबार, असार ३१, २०७३

धादिङ असार ३१
press maeet
सुकुम्वासी बस्तीमा सरकारले जारी राखेको दमन जारी राखेको भन्दै नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ।
शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १० गते नेपाल बन्द गर्ने बताए।
सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको उनले बताए।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गरे । उनले भने ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नु पर्छ।’
राज्यको बर्बर दमनको रुपमा हेर्न सागरनाथ बस्तीमा पुग्न पनि पत्रकारहरुलाई उनले आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने ।
घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग उनले आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ ।
पत्रकार सम्मेलनमा सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरे । प्रहरी दमनबाट सुकुम्वासी संजिव बम्जनको बायाँ आँखा गुमेको छ । नामबाट छोडिएको गोली टाउकोमा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको छ।
१२ जना सख्त घाइते भएका छन् । दमनका क्रममा सयौं थान अश्रु ग्याँस, रबर र सिसाको गोली प्रहार गरेका थिए । सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरो तथा द्वन्द्वपीडितहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई सरकारले नै ०६६ सालबाट पौचारिक रुपमा निर्णय गरी सुकुम्वासीलाई त्यहाँ राखिएको थियो ।

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ।