बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् ।“दशौँ महिनाको पहिलो दिनलाई शौवाल भनिन्छ, पश्चिम एसियाली मुलुकमा मङ्गलबार चन्द्रमा देखियो, नेपालमा बुधबार चन्द्रमा देखिने भएकाले बिहीबार इद उल फित्र पर्व मनाउन लागिएको हो, यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाई मनाउँछन्”– उनले भने ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।
यस पर्वका उपलक्ष्यमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ ।