गोरखामा पहिरो ३ जनाको मृत्यु, ३ घाईते

Avatar photo
Dhadingpost
मङ्लबार, असार २१, २०७३

धादिङ असार २१
kerauja

गोरखाको केरौंजा–३ मा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
फलिङपु भन्ने ठाउँमा खसेको पहिरोले वडा नम्बर ४ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया गुरुङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए । उनीहरुको शव पहिरोबाट निकालिएको थापाले बताए ।
पहिरोले भत्काएको बाटो मर्मत गर्न गएकाहरु मंगलबार बिहान ११ बजे आएको पहिरोले पुरिएका हुन् । प्रहरीले भने बाटो मर्मत गरि रहेको ठाउँमा पैदल यात्रा गरेकाहरु प्रहरीले पुरिएका जनाएको छ ।

घाइते हुनेमा केरौंजा-४ का ४० वर्षीय पुङ्गे गुरुङ, उकाल गुरुङ र १२ वर्षीय सुकराम घले छन् । घलेको अवस्था गम्भीर रहेको स्थानीयबासीले बताए । माछिखोला प्रहरी चौकीका प्रहरी र स्थानीयबासीले घाइते र मृतकको उद्दार गरेका छन् । घाइतेहरुलाई उद्दार गरि उपचारका लागि माछिखोला स्वास्थ्य चौकीमा ल्याईएको छ ।

२०७२ बैशाख १२ गते को भूकम्प लगत्तै उक्त ठाउँमा पहिरो गएको थियो । केरौंजा गाउँबाट सुरु भएको करिब ५ किलोमिटर लामो पहिरो केरौंजा बेंसी हुँदै बुढीगण्डकी नदिमा मिसिएको छ । वर्षात सुरु भएसँगै पुन: पहिरो खस्न थालेको हो । पहिरोबाट विस्थापित बासिन्दा जंगलको बुट्यान फडानी गरेर अस्थायी रुपमा बस्दै आएका छन् ।

घटनास्थल विकट भएका कारण उद्दार गर्न र सुचना प्राप्त गर्न कठिनाई भएको छ । घटना बारे गृह मन्त्रालयमा जानकारी गराएर हेलिकप्टर मगाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । घाइतेहरुलाई थप उपचारका लागि लैजान हेलिकप्टर मगाउन लागिएको हो । अघिल्लो सातामा केरौंजामा पहिरो आएपछि केरौंजा गाउँका अघिकांश बासिन्दा बिस्थापित भएका थिए ।