हरिहरसिंह राठौर,
धादिङ असार १९
राजधानीबाट प्रहरी सुरक्षामा आरामसाथ सदरमुकाम पुगेका भारतीय राजुदत रन्जीत रेको पजेरो नगरपालिकासँग जोडिएको १६ किलोमिटर टाढाको ज्यामरुङ्ग पुग्न २ घण्टा लाग्यो । उक्त गाडीले करिव १५ किमी नगरपालिका क्षेत्रमै गुडेको थियो भने सिमाना गोलाभन्ज्याङ्गवाट एक किलोमिटरमै ज्यामरुङ्गको चामभन्ज्याङ्गसम्म पैदल पुग्नु थियो । सडक त थियो तर गाडी जानै नसक्ने भएपछि उनी हिलोमै १ घण्टा पैदल हिंडे । राजदुतका जुत्ता हिलाम्मे भैसकेका थिए । सहयोगीलाई राजदुतलाई चिप्लनबाट जोगाउनै हैरानी थियो । भारतीय राजदुत भारतीय सरकारको सहयोगमा पौने २ करोडमा लगानीमा निर्माणाधिन खानेपानी आयोजनाको शिलान्यास गर्न गत शुक्रबार झरीमा रुझ्दै आएका थिए ।
राजदुतको गाडी आधा दर्जन स्थानमा फसेको थियो भने सभासद राजेन्द्र पाण्डे, गुरुप्रसाद वुर्लाकोटी र परशुराम तामाङ्गले आफनो गाडी फिर्ता पठाई मालवाहक स्वराज ट्रकमा यात्रा गर्नु परेको थियो । सँगै रहेका स्थानीय विकास अधिकारी भगवान अर्याल गाडी फसेको स्थानमा मुख लुकाउँने गर्थे ।
धादिङ सदरमुकाम पुग्न पृथ्वीराजमार्गको मलेखुबाट १८ किलोमिटर पीच सडक पार गर्नुपर्छ । तर दुर्भाग्य सदरमुकामका अन्य १२ वटा वडा पुग्न असारमा सवारी साधनलाई हम्मे हम्मे पर्छ । जिल्लाको एउटैमात्र नीलकण्ठ नगरपालिकामा एउटा वडामा पुग्ने दर्जनौं कच्ची सडक निर्माण गरिएका छन् । यौटै वडामा तल्लो टोल र वल्लो टोल जोडने भिन्ना भिन्नै सडक निर्माण गरिएका छन् । एउटै वडामा धेरै सडक निर्माण गर्ने प्रतिस्पर्धा र होडवाजी धादिङमा अत्यधिक छ । स्काभेटर र डोजर लगायतका ठूला उपकरण प्रयोग गरी सडक निर्माण हुन्छन् । हरेक वर्ष मर्मतमा लाखौं खर्च हुन्छ तर असारदेखि असोजसम्म सदरमुकाम छोडेर अन्तकतै यातायातका साधन संचालन गर्न कठिनाइछ ।
पश्चिम उत्तरका २४ गाविसहरु र मनास्लु पदमार्गको प्रवेशद्धारका रुपमा रहेको सदरमुकामदेखि ३४ किलोमिटर टाढाको सल्यानटार पुग्न २०६० सालमै गोलभन्ज्याङ्गसम्म १४ किमी पीच र ३ किमी सडक ग्राभेल गरिएको थियो । ‘तर उक्त पीच ३ वर्ष टिकेन । हरेक वर्ष मर्मतमा लाखौं खर्च हुन्छ तैपनि हिलोले ठूला सवारी साधन र मोटरसाईकलको त कुरै छोडौं पैदल यात्रुलाई समेत असहज हुन्छ ’, सल्यानटार गाविसका पूर्व अध्यक्ष फणिकान्त छत्कुलीले बताए ।
सदरमुकामबाट सदरमुकामकै अन्य वडा र छिमेकी गाविसहरुमा जाने नियमित यातायात साधनहरु पनि संचालन हुन सकेका छैनन् । सुनौलावजार, खरि मैदी,चैनपुर, ढोला, धुवाँकोट, कटुन्जे, सेम्जोङ्गका सार्वजनिक यातायत हरु ठप्प रोकिएका छन् ।