वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ। पत्रकार भट्टराईको ६६ वर्षको उमेरमा गएराति १ बजे ह्दयघातको कारण निधन भएको हो ।
बुटवल उपमहानगरपालिका १४ तामनगरस्थित निवासमा राति अबेरसम्म टेलिभिजनमा फुटबल हेर्दै बसेका भट्टराईलाई एक्कासी असहज महसुस भएको भन्दै लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२००७ साल असार १५ गते अर्घाखाँचीको पोखराथोक १ मा बुवा स्व. टिकाराम भट्टराई र आमा हिरा भट्टराईको कोखबाट जन्मिएका भट्टराई विगत लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए।
रुपन्देहीबाट प्रकाशित हुने जनसंघर्ष दैनिकको पूर्वसम्पादक हुँदै लामो समय दैनिक लुम्बिनीमा काम गरेका भट्टराईले सैनामैना र नयांसत्ताको प्रधानसम्पादक भएर समेत काम गरेका थिए । पछिल्लो चारवर्ष मेचिकाली दैनिक र हाल बुटवल टुडेमा स्तम्भ लेख्दै आएका थिए।भट्टराईको नियमित स्तम्भ पण्डितजीको थनथन सर्वाधिक लोकप्रिय र सबैले मनपराउने स्तम्भ थियो।गीत, कबिता, कथा, नाटक, नांच, गान, स्वास्थ्य, उपन्यास, काव्य, व्यंग्य तथा सामयिक सन्दर्भमा लेख लेख्थे।भट्टराई बेद, पूर्विय दर्शन र बुद्ध दर्शनका समेत ज्ञाता थिए।
आध्यात्मलाई बैज्ञानिक रुपले पुष्टि गर्दै लेख्नसक्ने ज्ञान भएका भट्टराईलाई २०७० सालमा प्रेस स्वतन्त्रता सेनानीको उपाधिबाट सम्मानित भएका थिए।
स्व. भट्टराईकी ८८ वर्षिय आमा हिरा भट्टराई, श्रीमती सिता, दुई छोरा र दुई छोरी छन्।