सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् ।
बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।
लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’
करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।
महर्जनले थपे,‘बझाङमा यसअघि बैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु हितकर हुनेछ ।’
केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का भने मापन भएको छैन । केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले पश्चिमक्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने बताए ।
‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानविय क्षती भएको छैन’, उनले भने, ‘तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’
उनका अनुसार बझाङमा विस्तारै धक्काहरु कमजोर बन्दै गएका छन् । अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेका धक्का आइरहेको केन्द्रको भनाइ छ ।