आइतबार राति परेको ठूलो पानीका कारण सोमबार पनि मुग्लिन नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।हरेक दिन पहिरोका कारण लामो जाममा फस्ने गरेपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।
ट्राफिक प्रहरीका अनुसार यो सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुलीको बाटो प्रयोग गर्न सक्ने छन् । यस्तै पश्चिम ओहोरदोहोर गर्ने गाडीले पोखरा, पाल्पा हुँदै बुटवल निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने छन् ।
राति एकैछिन एकतर्फी बाटो खुलाएपनि फेरि पहिरो खसेपछि बाटो अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै सडकमाथिबाट ढुंगा खस्दा पन्छाउन पनि कठिनाई भएको छ ।पहिरोका कारण दिनहुँजसो मुग्लिन नारायणघाट सडक अवरुद्ध हुन थालेपछि सकेसम्म यो रुट प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।