जल तथा मौसम विज्ञान विभागको ‘बाढी भविष्यवाणी शाखा’ ले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य–मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क गराउँदै आएको छ ।
भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले भविष्यवाणी गरेको छ । कोसी, नारायणी, गण्डकी, कर्णाली, पश्चिम राप्ती, महाकाली, वाग्मतीलगायत सबै नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ को प्रक्षेपण छ ।
शाखाका बाढी भविष्यवाणी विज्ञ विनोद पराजुलीले भने, ‘सकेसम्म सर्वसाधारण सचेत होऊन् र धनजनको क्षति नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’आउँदो साताको भविष्यवाणीपछि विभागले सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन काम थालेको छ । ‘ग्लोबल हाइड्रोलोजिकल मोडेलहरूले घनघोर वर्षापछि बाढीको आकलन गरेकाले हामीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएका छौं,’
पराजुलीका अनुसार प्रमुख नदीहरूमा स्थापना गरिएका बाढी पूर्वानुमान केन्द्रहरूबाट ‘रियल टाइम बेसिस’ का आधारमा प्राप्त हुने जलसतह र वर्षाको विवरणका आधारमा गरिने बाढी पूर्वानुमान सेवा विभागको वेबसाइटबाट समेत हेर्न र थाहा पाउन सकिन्छ । कुनै नदीमा पानीको सतहले खतराको सूची नाघ्नेबित्तिकै घण्टी बज्छ र विज्ञहरूले त्यसअघि नै सर्वसाधारणलाई सूचना प्रवाह गर्छन् ।
विभागले ११५५ नम्बरको टोल फ्री नम्बरमार्फत सर्वसाधारणमा कुनै पनि नदी वा ठाउँ विशेषको वर्षा र बाढीको पूर्वसूचना दिने कार्य उपलब्ध गराउँदै आएको छ ।