धादिङबेसी असार १० । बैशाख १२ गते गएको विनासकारी भुकम्पबाट क्षतिग्रस्त भएका आवास पुनः निर्माणका लागि गाउँ विकास समिति र लाभग्राही बीच धादिङमा सम्झौता कार्य भईरहेको छ ।
नेपाल सरकारले भुकम्प पीडितहरुको लागि दिने भनिएको दुई लाख रकमको अनुदान सम्झौता १० गाविसमा सम्पन्न भैसकेको छ । सम्झौता कार्य सम्पन्न भएका गाविसहरुमा आगिन्चोक, बसेरी बुढाथुम, दार्खा, झार्लाङ, जोगिमारा, कटुञ्जे, मार्पाक, सल्यानकोट र सेमजोङ रहेका छन् । भने धुषा लगायत ९ वटा गाविसहरुमा सम्झौता कार्य जारी रहेको छ ।
प्राविधिक टोलीहरुले नामवली संकल गर्दा घरधुरीहरु छुटेका छत्रेदेउराली, गोगनपानी र सेर्तुङ गाविसहरुमा भने सम्झौता कार्य रोकिएको छ । स्थानियहरुले छुटेका घरधुरीहरुलाई पनि समावेश गर्नु पर्ने माग राखे पछि ३ गाविसमा सम्झौता कार्य बन्द भएको छ ।
यसै गरी मुरलीभन्ज्याङ, साङकोष, सुनौलाबजार, नीलकण्ठ, धुवाँकोट र ढोला गाविसमा भने सम्झौता गर्न बाँकी रहेको छ । २०७२ साल बैशाख १२ गतेको गएको विनासकारी भुकम्प र त्सस पछिको पराकम्पनबाट धादिङ जिल्लामा कुल ७० हजार ५ सय ८१ मानिसहरु लाभग्राही भएका थिए ।
जस अनुसार ११ हजार ३ सय २ घरहरुको सम्झौता भएको छ । सम्झौताको क्रममा नामावलीमा नाम समावेस नभएको, कित्ता नम्बर, निस्सा नम्बर फरक भएको र विभिन्न विधिका ३ हजार १० घरहरुको गुनासोमा दर्ता भएको जिल्ला विकास समिति धादिङका सूचना अधिकृत भोला गौतमले जानकारी दिनु भएको छ ।