अफगानिस्थानको राजधानी कावुलमा आतंकवादीहरुको आक्रमणमा मारिएका बुटवलका जितेन्द्रसिंह थापाको बिहिबार अन्त्येष्टि गरिएको छ।
सोमवार बिहान कावुलमा मारिएका जितेन्द्रको शव बुधवार साँझ बुटवलस्थित घरमा ल्याइएको थियो। दुई श्रीमतीका श्रीमान र ३ सन्तानका पिता जितेन्द्रको अन्त्यष्टी हिन्दु वा ईशाई मध्ये कुन परम्पराबाट गर्ने भन्ने केही अन्यौल भएपछि ढिलाई भएको थियो।
जेठी श्रीमती र दुईछोरा ईशाइ र कान्छी श्रीमती हिन्दु भएका कारण कुन संस्कार अनुसार गर्ने भन्ने अन्योल भए पनि स्थानिय प्रशासनको समन्वयमा जेठी श्रीमती र छोराहरुको चाहना अनुसार ईशाइ परम्परा अनुसार गरिएको बताईएको छ।
कान्छी श्रीमती सञ्चिताले जितेन्द्रले हिन्दु धर्म मान्दै आएको र दुई वर्ष पहिले आफूहरूको विवाह र चार महिना पहिले छोराको न्वारान समेत हिन्दु परम्परा अनुरुप भएको बताएकी थिईन्।
ईशाई परम्परा अनुरुप अन्तिम संस्कार गरिए पनि दुई श्रीमतीले जितेन्द्रको काजक्रिया आआफ्नै धार्मिक परम्परा अनुरुप गर्ने बताएका छन्। जेठी श्रीमती गौमती र छोराहरुले ईशाइ र कान्छी श्रीमती सञ्चिताले हिन्दु संस्कार अनुरुप काजक्रिया गर्ने जनाएका हुन्।
बुधवार मात्रै काठमाडौं ल्याइएको शव भैरहवा ल्याउने भएपछि बुधवार साँझ नै बुटवलबाट पहिलो श्रीमती गौमती र छोराहरु भैरहवा विमानस्थलमा जितेन्द्रको शव बुझ्न पुगेका थिए भने कान्छी श्रीमती सञ्चिता काठमाडौंबाट आएकी थिईन्।
विमानस्थलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुले दुवै श्रीमती र छोराहरुलाई जितेन्द्रको शव बुझाएका थिए।