धादिङबेसी असार ९ । धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालयमा माध्यामिक तह देखि नै इन्जिनियरीङ विषयमा पढाइ सुरु भएको छ ।
शिक्षा विभागको स्वीकृतिमा नीलकण्ठ उच्च माध्यामिक विद्यालयमा असार १ गते देखि जिल्लाकै पहिलो पटक इन्जिनियरीङ विषयमा पढाई सुरु भएको हो ।
धादिङ जिल्लामा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ उत्त विषयको पढाई सुरु गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु सिलवालले बताउनु भयो । सिलवालका अनुसार ४८ जनाको कोटामा इन्टान्सलाई आधार मानेर विद्यार्थी छनोट गरिएको छ । कक्षा ९ देखि सुरु गरेको इन्जिनियरिङ पढाइ कक्षा १२ सम्म यहि विद्यालयमा संचालन हुने व्यवस्था मिलाइएको छ ।
भौतिक व्यावस्थापनको लागि हाल प्रत्येक विद्यार्थीबाट ५ हजार संकलन गरि कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकारले सुरु गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम अन्र्तगत इन्जिनियरिङ विषय पढाइ सुरु भए पछि उक्त विषय पढ्न अब विद्यार्थीहरु राजधानी जानुपर्ने बाध्यता हटेको छ ।
मासिक शुल्क तिर्नु नपर्ने भएकोले जस्तो सुकै आर्थिक अवस्था भएको विद्यार्थीहरुले पनि पढ्न पाउने प्रधानाध्यापक सिलवालको भनाई रहेको छ । इन्जिनियरिङ पढ्न एस. एल. सी पछि मात्र पाइन्थ्यो भने अब विद्यालय तह देखि इन्जिनियरिङ पढ्न आफ्नै विद्यालयमा पाइने भएकोले विद्यार्थीहरु पनि खुसी भएका छन् ।