नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने

Avatar photo
Dhadingpost
बुधबार, असार १, २०७३

काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र छ। हालसम्म सयको नोटमा एउटामात्र गैंडा तस्बिर छ।
सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचना अनुसार बजारमा आइसकेको सय रुपैयाँको नोटमा माउ र केटो गैंडाको तस्बिर छ।

राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि विशेष छपाइमा सावधानी अपनाएके छ। पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ। नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पानी छापमा पहिले जस्तै लालीगुँरासको फोटो राखिएको छ। फिट मेडल फिचरमा मायादेवीको चित्र छ। यसको साथै अंग्रेजी भाषामा ‘लुम्बिनी– द बर्थ प्लेस अफ लर्ड बुद्ध’ पनि लेखिएको छ। नोटको बोर्डरमा नेपालीमा विसं २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ।

पहिलोपटक गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सय दरका नयाँ नोट चीनमा छापेर ल्याइएको हो। उनी पोहोर चैत ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए। उक्त नोट प्रमाणीकरण गरेर सोमबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड सिक्टिङ कर्पोरेसनलाई दिएको थियो। चीनमा छापिएका सय दरका नोट कोलकातासम्म पानी जहाजमा ल्याई त्यहाँबाट रक्सौलसम्म रेलमा ल्याइएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै राष्ट्र बैंकको ढुकुटीमा ल्याइएको हो। नोट छाप्ने कम्पनीको विशेष निगरानीमा कोलकाता ल्याइएको र त्यसपछि भारतका सुरक्षाकर्मी र राष्ट्र बैंकका कर्मचारीले रक्सौलसम्म र त्यसयता नेपालका सुरक्षाकर्मीको रेखदेखमा ल्याइएको राष्ट्र बैंकले बताएको छ।

पहिलो खेपमा ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट आएको छ। कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट ल्याएको राष्ट्र बैकले जनाएको छ। सय दरका नयाँ नोट धमाधम चीनमा छाप्दै नेपाल ल्याउने काम भइरहेको छ। राष्ट्र बैंकले असारको अन्त्यसम्ममा नयाँ नोट छापेर ल्याउन उक्त कम्पनीसँग सम्झौता गरेको थियो।

राष्ट्र बैंकले बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट ल्याउँदै छ। २०, ५० र १०० दरका नोट धमाधम विदेशमा छापिएर ल्याइँदै छ भने ५०० दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ।