धादिङ २७ जेठ –
वन तथा भू संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पपीडित नागरिकको घर निर्माणका लागि चाँडै काठ उपलब्ध हुने बताउनुभएको छ ।
बिहीबार रिपोर्टर्स क्लब काठमाडौंमा भएको कार्यक्रममा मन्त्री सापकोटाले असारभित्र काठ वितरण प्रक्रिया सुरु गर्ने बताउनुभयो । भूकम्पपीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागि परेको उहाँको भनाई छ ।
‘वर्षा सुरु भयो, तर भूकम्पपीडित जनताहरु खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरुलाई छानोमा सार्नेगरि सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो’ उहाँले भन्नुभयो, ‘अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकारले जनताले मागेजति काठ दिन तयार छ ।’
मन्त्री सापकोटाले पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणको कार्यलाई तिव्रत दिने बताउनु भयो । उहाँले भन्नभयो, ‘पहिलो चरणमा हामी १४ जिल्लामा उक्त कामलाई बढाउँछौं ।’ भूकम्पपीडितलाई वितरण काठमा तलमाथि नहोस भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको संयोजकत्वमा वन पैदावर आपूर्ति समिति समेत गठन भैसकेको मन्त्री सापकोटाले जानकारी दिनुभयो ।
मन्त्री सापकोटाले भूकम्पपीडितलाई सरकारले असारभित्रै पाँच लाख उपलब्ध गराउने दाबी गर्नुभयो । उहाँका अनुसार तीन लाख अनुदानमा र बाँकी दुई लाख रुपैयाँ निव्र्याजी पैसा पीडितलाई दिइनेछ । उहाँले भन्नुभयो, ‘सामूहिक जमानीमा तीन लाख अनुदान वितरण अब सुरु गर्छौं ।’