उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत,टोलीमा ११ सदस्य

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

धादिङ ,जेठ २६
Nanda-Bahadur-Pun-Pasang
सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण स्वीकृत गरेको छ । पुनले यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

चीनको युन्नान प्रान्तीय जनकंग्रेस स्थायी समितिको निमन्त्रणमा पुन चीन भ्रमणमा जान लागेका हुन् । जुन १२ देखि १७ सम्म युन्नान प्रान्तको कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन-दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेला तथा २४ औं चीन-कुन्मिङ आयात निर्यात व्यापार मेलामा उपराष्ट्रपति पुन सहभागी हुनेछन् ।

उनले १२ जुनमा आयोजना हुने चौथो चीन दक्षिण एशिया व्यापार मेला उदघाटन समारोह र सोही दिन हुने ११ औं चीन-दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनमा रहँदा पुनले चिनियाँ उपराष्ट्रपति, चीन सरकारका उच्च पदाधिकारीहरु, युन्नान प्रान्तका सरकारी प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

टोलीमा ११ सदस्य

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमणको टोली ११ सदस्यीय हुने भएको छ । पुन चीनको औपचारिक भ्रमणका लागि २८ जेठमा त्यसतर्फ प्रस्थान गर्दैछन् ।पासाङको भ्रमण टोलीमा उनकी पत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोजकुमार घर्ती, उपराष्ट्रपतिको एडिसी प्रमुख सेनानी मनोजकुमार सिलवाल रहने छन् ।

यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल सुरेन्द्र थापा, प्रधानमन्त्री कार्यालयका उपसचिव अन्जानकुमार मिश्र, पराष्ट्र मन्त्रालयका शाखा अधिकृत जनक सिंह, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य, भाषा अनुवादक डा. हरिसचन्द्र शाह र प्रधानमन्त्री कार्यालयका एकजना प्रतिनिधि पनि हुुनेछन् ।

चीनको युन्नान प्रान्तीय जनकंग्रेस स्थायी समितिको निमन्त्रणमा उनी चीन भ्रमणमा जान लागेका हुन् । चीनमा रहँदा उनले चिनियाँ उपराष्ट्रपति, चीन सरकारका उच्च पदाधिकारीहरु, युन्नान प्रान्तका सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् । उनले युन्नान प्रान्तका विभिन्न भागको विकासे आयोजनाहरुको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति पुन २ असारमा स्वदेश फर्कनेछन् ।