सहमतिको सरकारको नेतृत्व गर्न माओवादी तयार: मन्त्री गजुरेल

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

धादिङ २६ जेठtimthumb (2)

कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा (माओवादी केन्द्र) तयार रहेको बताएका छन्।

बुधवार विहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा (एमाले)सँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअ‍ोवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गरे।

उनले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताए। मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेको बताउँदै नेपाली काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको नेतृत्वमा भएपनि हुनुपर्ने बताए।

माओवादी केन्द्रका नेतासमेत रहेका गजुरेलले राष्ट्रिय सरकारको विषयमा सहमति भयो भने नेतृत्व लिन पनि तयार छौँ, छाड्न पनि तयार छाै‌ं भन्ने सकारात्मक भनाइ भएकाले राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित भइसकेको बताए।

उनले मधेसवादी दलका समस्या वार्तामार्फत हल गरेर अबको २० महिनाभित्र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। उनले बाँकी २० महिनाभित्र संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने काम सम्पन्न गर्नका लागि पनि अब सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए। दलहरु एकै ठाउँमा नहुँदा मुलुकले अग्रगति लिन नसकेको उनले दाबी गरे।

नेपालका हरेक घटनाक्रम सहजरुपमा अगाढि बढ्न नसक्ने भएकाले जटिलता उत्पन्न हुने बताउँदै उनले मुलुकको शक्ति विकेन्द्रित हुँदा समस्या भएको बताए। पटक पटक नेपालको राजनीतिमा परिवर्तन हुने तर जनताको जीवनस्तरमा परिवर्तन हुन नसक्दा निरासा पैदा हुने गरेको बताउँदै उनले त्यसतर्फ अब राज्यका कामहरु केन्द्रित गरिने बताए।

मन्त्री गजुरेलले सरकारले भर्खरै ल्याएको बजेट तथा नीतिमा कृषकलाई पेन्सन दिने व्यवस्था सकारात्मक भएको भन्दै अब कृषिमा निरासा जागेर पलायन हुनुपर्ने अवस्था नआउने दाबी गरे।

अर्को प्रसङ्गमा मन्त्री गजुरेलले राष्ट्रसेवक कर्मचारीले १० दखि ४ बजेसम्म कार्यालयमा दिन खेरफाल्ने मात्र नभई जागिर सकिएपछि पछुतो हुने किसिमको व्यवहार नगर्न निर्देशन दिए। उनले जनताको सेवामा कुनै कसर बाँकी नराख्न कर्मचारीलाई आग्रह पनि गरे।