बाबुराम श्रेष्ठ,
धादिङबेसी जेष्ठ १६ । विगत १५ दिन देखि ज्यामरुङ गाविस वडा नं ६ का ९३ बर्षीय सूर्य प्रसाद खनाल अहिले जिल्ला अस्पताल धादिङमा उपचारार्थ छन् । दम रोगले ग्रसित सूर्य प्रसाद खनाल उपचारको लागि जिल्ला अस्पताल धादिङमा भर्ना भएको १६ दिन भैसकेको छ ।
आँटिला र हक्की स्वाभावका खनाल जिज्ञासु छन् अस्पतालमा आएर भर्ना गरिएका हरेक विरामी र विरामीका आफन्त सँग भलाकुसारी गरे कै हुन्छन् । आफु बेडमा नबसी बेड-बेड चहारेर हिडेपछि कयौं पटक नर्सहरुले हकार्छन्, म मर्छ रोगले च्याप्छ, भनेर मायाँ गरेका हुन्, यति मायाँ मेरो सन्तानबाट पाउन सकेको छैन हामी सँगको कुराकानीमा बताउनु भयो ।
वर्षले ९३ भएका खनाल ज्यामरुङका जेष्ठ नागरिक समेत हुन् । ९३ बर्षको उमेर भएका खनालको उपचारको लागि उनको परिवारको कुनै पनि सदस्य आएका छैनन् ।
आफ्नो उपचारको लागि एक्लै जिल्ला अस्पताल धादिङ आई उपचारत खनाललाई अस्पतालले केहि औषधी निःशुल्क उपलब्ध गराए पनि सबै औषधी अस्पतालमा निःशुल्क नपाउने भए पछि किन्न जा भन्छन्, कहाँ जाने दम रोगले पीडित बृद्धा थप चिन्तामा परेका छन् ।
५ सन्तानको बुबा ती बृद्धाकोे ३ भाई छोरा अहिले पनि जीवित छन्, तर अहिले ति छोराहरु कहाँ छन् केही पत्तो छैन् ति बृद्धालाई । ९ महिना सम्म आमाको पेटमा राखी जन्म दिएको हुर्काएको छोराले अहिले बाबुको हेर बिचार नगर्दा मनमा भने शान्त पक्कै छैन् ।
‘पाखुरा छँदा सबै छ, पाँखुरा चल्न छोड्यो’ अहिले परिवार पनि छैन् । २६ बर्ष भैसक्यो एक्लै बसेको अब कसले हेर्छ मलाई भन्नुहुन्छ खनाल ।
‘छोरा सानो छँदा मर्लाकी भन्ने चिन्ता र ठूलो भए पछि मार्लाकी’ भन्ने उखान आफ्नो जीवनमा ठ्याक्कै मिलेको बृद्ध खनाल बताउँछन् । तर २६ बर्ष सम्म एक्लै बस्नुको कारणले भने खुलाएन । यस्ता घटनाहरु ज्यामरुङको मात्र नभई कयौ ठाउँमा हुने गर्दछन् ।
यस्ता बृद्ध बद्धाहरुलाई परिवारका कुनै पनि सदस्यहरुले हेरविचार नगरेको खण्डमा पीडितको परिवारलाई सरकारले सजाय तथा कानुनको ब्यबस्था गरिदिए बृद्धाहरुको लागि राहत मिल्ने थियो कि !
हामी वजेट भाषणको विषयमा कुरा गर्दै थियौं अस्पताल भित्र यसै बीच ति बृद्ध खनाल चासो राख्दै सोधे बढेको भत्ता कहिलेबाट आउँछ बाबु । बजेटले हामी जेष्टनागरीकलाई पनि सम्मान गर्यो खुसी छौ । तर महिनै पिच्छे भत्ता दिने बन्द बस्त गरे राम्रो हुन्थ्यो ।