सहमति तोड्दा ओली झण्डै पछारिएका -पोखरेल

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २५, २०७३

धादिङबेसी बैशाख २५ । एमाओवादीका पोलिटब्यूरो सदस्य एवम् ३ नम्बर प्रदेश ईन्चार्ज लिलामणि पोखरेलले सहमति तोड्दा एमाले सरकार संकटमा परेको बताउनु भएको छ ।

२०४८ साल पछि पहिलो पटक धादिङ आएका पोखरेलले एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्दै सत्ता समिकरणका बेला एमाओवादी सँग भएका सहमतिहरु लत्याई आफुखसी चलेकोले नै ओलि सरकार संकटमा परेको बताउनु भएको हो ।

एमाओवादीले एमालेका नेताहरु माधव नेपाल, झलनाथ खनाल देखि केपी ओली सम्मलाई सहमति कै आधारमा प्रधानमन्त्री बनायो तर हरेक सरकारले एमाओवादीलाई सरकारमा नजाउन्जेल सहमति गर्ने र प्रधानमन्त्रीको कुर्ची समाले पछि पेलेर जाने गरेको पनि पेखरेलले आरोप लगाउनु भएको थियो ।

उहाँले हिजो राजनीतिक त्याग गरेर संविधान ल्याईयो आज कार्यान्वयनका लागि एमाले सरकारलाई सहयोग गरि रहेका हौं । एमालेले किन बुझ्दैन ? एमाओवादीलाई हेर्ने दृष्किोण किन फेर्दैन सच्चिने मौका दिएका छौं नत्र एमाओवादी सत्ता संचालनको लागि तयार रहेको समेत बताउनु भएको थियो ।

सम्मेलनमा वैद्य माओवादी नीकट अखिल नेपाल शिक्षक संगठन धादिङका जिल्ला अध्यक्ष नवराज अधिकारी सहित पुरै जिल्ला समिति एमाओवादी नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका थिए ।

सम्मेलनमा एमाओवादी केन्द्रिय सदस्य तथा शिक्षा विभाग ईन्चार्ज पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेल, एमाओवादी नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भोला सापकोटा र महासचिव शंकर अधिकारी, नेपाली काँग्रेसका जिल्ला सचिव हरिराम वुर्लाकोटी, जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डे लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।

सम्मेलन भोलि सम्म चल्ने र नयाँ कार्य समिति समेत निर्वाचित हुने संगठनका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक अर्जुन नगरकोटीले जानकारी दिनु भयो ।