धादिङका अधिकाँस गाविसमा खानेपानीको हाहाकार

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ८, २०७३

धादिङ बैशाख ८ । लामो समयदेखि पानी नपर्नु र भुकम्पकाले मुल खल्बलिए पछि धादिङ जिल्लाका अधिकाँस ठाउँहरुमा खानेपानीको समस्या चरम बन्दै गएको छ ।

सल्यानकोट, साँङ्कोस, सुनौलाबजार लगायतका बासिन्दाहरु मुलपरिवर्तनको लागि दैनिक जसो सदरमुकाम धाउन थालेका भेटिन्छन् भने धादिङबेसी सदरमुकाममा समेत समस्या बढेर गएको देखिन्छ ।

यस्तै धादिङको खरी–१, धुसेनीका २ सय ५ घरधुरीमा अहिले खानेपानीको हाहाकार मच्चिएको छ । घर नजिकका मुहान र धारामा पानी सुकेपछि स्थानीयलाई पानीको जोहो निकै कठिन भएको छ ।

खानेपानीको लागि बिहान उज्यालो भए पछि एक गाग्री पानी थाप्नको लागि खोला धाउँदा समेत ३-४ घण्टा लाग्ने स्थानिय बासिन्दाहरुले बताएका छन् ।

धुसेनीको चारघरे, कुवापानी, ढाव, जुँगे धारा, सातबोटेमा रहेका प्राय जसो सबै पानीको मुहानहरु सुकिसकेको छ ।
खानेपानीको समस्याले गर्दा गाउँमा हुने विभिन्न साँस्कृतिक, विवाह, व्रतबन्ध लगायत सामाजिक कार्यहरु समेत रोकिएको छ ।