धादिङका तेज जस्तो नाम त्यस्तै काम

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ८, २०७३

बैशाख ८ । विंस २०५५ सालमा एसएलसी दिएको भोली पल्टै कामका लागि राजधानी छिरेका तेजबहादुर गुरुङले दुई दशक नपुग्दै जीवनमा यत्रो फड्को मारुला भन्ने सोचेकै थिएनन ।

अभाव, दुख र कष्टमा हुर्कनु भएका उहाँ जीवन चलाउनकै लागि एसएलसी दिएको एक रात मात्रै घर बसेर कामका लागि काठमाडौं हानिनुभयो । कामको खोजीमा राजधानीमा भौतारिरहनु भएका उहाँले पर्यटकको भारी बोक्ने काम पाउनुभयो । कलिलै उमेरदेखि भारी बेकेरै भएपनि विदेशी पर्यटकसँग हिड्नु भएको उहाँ आज पर्यटन क्षेत्रकै एक सफल र सक्षम व्यवसायीको रुपमा आफ्नो परिचय निर्माण गरिसक्नु भएको छ ।

धादिङ जिल्लाको सेर्तुङ्ग गाविसको ४० गाउँमा विसं २०३८ साल बैशाख १ गते जन्मनु भएको तेजबहादुरले लगातार दुई वर्ष पर्यटकको भारी बोक्ने काम गर्नुभयो । उहाँले त्यसपछि भने नेपाल भिजन र नेपाल एक्सपीडिसन ट्रेक्सबाट ट्रेकिङ गाइडको रुपमा काम थाल्नुभयो । केही वर्ष गाइडको काम गरिसकेपछि उहाँलाई आफै कम्पनी खोल्ने रहर जाग्यो र सन् २००८ मा आफ्नै एकल लगानीमा नेपाल अल्टरनेटिभ ट्रेक्स एन्ड एक्सपीडिसन संचालनमा ल्याउनुभयो ।

पर्यटन क्षेत्रका बारेमा गुरुङसँग व्यवसायीक मात्र होइन शैक्षिक अनुभव राम्रै छ । पूर्वाञ्चल विश्वविद्यालयबाट पर्यटन विषयमा स्नातकोतर गर्नुभएको उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पनि स्नातकोतर गर्नु भएको छ । । अहिले उहाँले बालाजु रानीवारीमा होमस्टे संचालन गर्नुभएको छ, भने ठमेलमै गार्डेनहोम नामक तीन तारे होटल आउदो जुनबाट संचालनमा ल्याउने तयारीमा हुनुहुन्छ । जसबाट उहाँले ६० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिनुभएको छ ।

यसका साथै उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०को प्रथम उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिको बरिष्ठ उपाध्यक्ष, तमू राष्ट्रिय मूक्ति मोर्चा काठमाडौं जिल्लाको अध्यक्ष समेत हुनुहुन्छ । गन्तव्य नेपाल न्युजबाट