मार्पाकमा अनुदान रकमको सम्झौता प्रक्रिया शुरु

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २९, २०७२

बच्चुराम अधिकारी,
मार्पाक चैत्र २९ । भूकम्पबाट अति प्रभावित उत्तरी धादिङको मार्पाक गाउँ विकास समितिमा पुन निमार्ण कार्यको लागि अनुदान रकमको सम्झौता प्रक्रिया शुरु गरिएको छ ।
धादिङ जिल्लाका भुकम्प पिडितहरुलाई अनुदानका लागि सम्झौता शुरु भएको यो पहिलो गाविस हो ।
उत्तरी धादिङको यस मार्पाक गाविसका १ हजार ३ घरधुरीलाई सरकारले दिने रकम २ लाख वितरण कार्य अगाडी बढेको छ तर धादिङका अन्य गाविसमा भने कहिले देखि सम्झौता प्रक्रिया अगाडी बढ्छ केहि बताईएको छैन ।
सरकारले दिने भनिएको २ लाख रकम भुकम्प पीडितहरुले लिनको लागि आफ्नो घर जग्गाको लालपुर्जाको फोटोकपी, नागरिकताको फोटोकपी, एन्जिनियरले दिइएको रसिदको फोटोकपी, र २ प्रति सदा वा रङिग फोटो पेस गरे पछि मात्र रकम भुकम्प पीडितहरुले लिन सकिने मार्पाक गाविसका गाविस सचिव बद्री अधिकारीले जानकारी दिनु भएको छ ।
भुकम्पले भत्केका घरहरुको पुन निमार्णको लागि सरकारले दिने रकम पहिलो किस्तामा घरको काम सुरु गरेपछि रु ५० हजार, दोस्रो किस्तामा काम आधा बनाएपछि रु रकम ८० हजार र तेस्रो किस्तामा घरको काम सकिए पछि रु ७० हजार गरी २ लाख रकम दिने ब्यबस्था गरिएको अधिकारीले बताउनु भएको छ ।
पुन निमार्णको लागि सम्झौता प्रक्रिया बैशाख १७ गते सम्म सञ्चालन हुने भएकोले सबै भुकम्प पीडितहरुलाई आफ्नो घर जग्गाको कागजात तयार गरी रकम लिनबाट बञ्चित नहुन अधिकारीले पीडितहरुलाई आग्रह गर्नु भएको छ ।