धादिङमा राहदानी बनाउनेहरु १० प्रतिशतले बृद्धि -पराजुली

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २२, २०७२

धादिङबेसी चैत्र २२ । जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी बनाउनेहरुको संख्या १० प्रतिशतले बृद्धि भएको छ ।
अघिल्लो बर्षको तुलनामा यस बर्ष राहदानी बनाउनेहरुको संख्या १० प्रतिशतले बृद्धि भएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत तोरण पराजुलीले बताउनु भएको हो । नेपालमा सोचे जस्तो रोजगारी नपाए पछि रोजगारीकै शिलशिलामा बिदेश जानको लागि राहदानी बनाउने युवा युवतीहरुको भीड उत्तिकै लागेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी बनाउनको लागि फारम भर्नेहरुको संख्या बृद्धि भएसँगै धादिङका अधिकांश फोटो स्टुडियोहरुमा समेत फारम भर्नेहरुको भिड उत्तिकै लागेको छ ।
पराजुलीका अनुसार अनुसार धादिङ जिल्लाबाट बैशाख १० गते देखि हाल सम्म ७ हजार ६ सय ७५ जनाले राहदानी लिइसकेको छन् ।
पहिलो पटक राहदानी बनाउँदा ५ हजार तिरे पछि ४५ दिनमा राहदानी सम्बन्धीत ब्यक्तिले पाउने छन् । तर १० हजार रकम तिरे पछि काठमाण्डौंबाट एक हप्ता मै राहदानी लिन सकिने जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत तोरण पराजुलीले बताउनुभयो ।
राहदानी हराएको, च्यातिएको, पानीले भिजेको र राहदानी नै काम नलाग्ने भएको खण्डमा भने अर्को बनाउँदा काठमाण्डौबाट १५ हजार र धादिङबाट बनाउँदा रु १० हजार रकम लाग्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
बैशाख १२ गतेको विनासकारी भुकम्प पछि धादिङ जिल्लाबाट दैनिक १ सय ३० देखि १ सय ५५ जना मानिसहरु राहदानीको लागि फाराम भर्ने गरेको र जस मध्ये २२-२५ बर्षका युवा युवतीहरु रहेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनु भयो ।