आरुपोखरी स्थित घरमा ढुङ्गा वर्षन रोकिएन, हेर्नेको भिड, प्रहरीबाट अनुशन्धान

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ८, २०७२

आरुपोखरी ८ चैत, गोरखा । सीता बानियाँको आरुघाट नजिकै पर्ने आरुपोखरी स्थित घरमा तीन दिनदेखि ‘अपत्यारिलो घटना’ भइरहेको छ । घरको छानादेखि चुल्होसम्म अज्ञात स्थलबाट ढुंगा खसि रहेका छन् ।
यो घटनाले आतंकित बनेपछि बानिया परिवारले प्रहरीलाई समेत गुहारे का छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
आरुपोखरी स्थित नानिमाया बानियाँका अनुसार शनिबार साँझ एक्कासी घरको जस्ताको छानोमा केही खसेको आवाज आएको थियो । हेर्दा ढुंगा रहेछ । त्यसपछि लगातार आवाज आइरह्यो र ढुंगा खसिरहे । साँझ ६ बजेतिर सुरु भएको ढुंगा खस्ने क्रम त्यस दिन राति ११ बजेसम्म चल्यो ।

सुरुमा कसैले तर्साउन गुलेलीले हानेको आशंकामा गाउँलेले वरपर व्यापक ‘सर्च’ गरे । तर, केही भेटिएन । भोलिपल्ट पनि यही क्रम चल्यो । अहिले गाउँलेहरु ठान्छन्, यो मानिसले गरेको हुँदै होइन ।

‘अहिले त घरभित्रैका सामान पनि खस्न थालेका छन् । हामीले खाटमुनी राखेको साबुनको डल्लो पनि खस्यो । धारामा राखेको गिलास पनि खस्यो,’ बानियाँले भनिन् ।

भूकम्पले क्षति भएपछि यो घरको माथिल्लो तला भत्काएर एक तल्ले बनाएर टिनको छानो हालिएको छ । त्राशले गर्दा परिवारका सदस्य अन्य दुई घरमा सुत्न थालेका छन् । यद्यपि, अहिलेसम्म मानिसलाई एकपटक पनि ढुंगाले लागेको छैन ।
घटनाबारे खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर रवीराज थपलियाको नेतृत्वमा टोली ले अनुशन्धान थालेको छ ।

प्रहरीले खसेको ढंगासहितका बस्तुहरुलाई जम्मा पारेर डोकोले छोपेर राखिएको छ ।इन्स्पेक्टर थपिलयाका अनुुसार ती ढुंगाहरु आधा किलोदेखि २ सय ग्रामसम्मका छन् ।

कसैले तर्साउन हानेको हो कि भन्ने आशंकामा प्रहरीले २/३ किलोमिटर क्षेत्रमा सर्च अभियान सुरु गर्ने तयारी गरेको छ ।
स्थानिय रविराज थपलियाका अनुसार आज पनि उक्त घरमा आज पनि ढुङ्गा खस्यो । आफुनै आखाले नै देखेपछि यो अनौठो र आश्चर्यमा परेको उहाँले बताउनु भयो ।