६ बुँदे घोषणापत्र जारी गर्दै जन्मियो ‘नयाँ शक्तिको पत्रकार

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २६, २०७२

काठमाडौं, २६ फागुन । नयाँ शक्ति अभियानमा सरिक पत्रकारहरुले ‘नेपाल प्रेस सोसाइटी’ नामक संस्था गठन गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकार भेलाले रुद्र भट्टको संयोजकत्वमा १ सय ५१ सदस्यीय सोसाइटीको गठन गरेका हुन् ।
काठमाडौंको बबरमहलमा आयोजित भेलामा मुलुकभरका ५० भन्दा बढी जिल्लाका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो । नवगठित प्रेस सोसाइटी नेपालको अन्तरिम केन्द्रीय परिषदमा अजय अनुरागी, अस्मिता खड्का, कुसुम भट्टराई, सुदर्शन खतिवडा, आरजु विस्ट सल्यानी, बिदुर खड्का, प्रल्हाद पोखरेल, आरके पटेल, छठु शाह, राजेन्द्र अधिकारी, अमृत सुवेदी, उज्वल पौडेल, गणेश चिन्तन, केशव अर्याल रहेका छन् ।
यसैगरी गीता मैनाली, रमेश पोखरेल, केशवराज थोकर, प्रशान्त लामिछाने, प्रमेश बर्तौला, पार्वती थापामगर, फणिन्द्र दाहाल, बबिता खनाल, बिदुर ढुंगेल, कनिकर कार्की, राजु लामिछाने, सन्तोष यादव, हरि पौडेल, कृष्ण घिमिरे, देवराज गुरुङ, रणबहादुर रम्तेल, टिका प्रधानलगायत रहेका छन् ।

यस्तो छ ६ बुँदे घोषणापत्र

१. नेपाली जनताको लामो संघर्ष र बलिदानको परिणामस्वरूप संविधानसभाबाट संविधान जारी भएको छ । यसले नेपाली जनतालाई आफ्नो भाग्यको फैसला आफैले गर्न पाउने सुनिश्चित गरेको छ । त्यसैले अबको बाटो भनेको समृद्ध नेपाल निर्माणकालागि समृद्धि, समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्रलाई आधार बनाउन अनी सदाचार, सुशासन, स्वाधिनता, सार्वभौमसत्ता हुँदै समृद्ध समाजवादको दिशामा जाने लक्ष्यका साथ अगाडि बढ्न अपिल गर्दछौं ।
२. श्रमजिवी पत्रकारको मुद्दालाई पत्रकारको हितमा भन्दा राजनीतिक रुपमा उठाउने र नियुक्ति लिने प्रवृतिलाई अन्त्य गर्दै श्रमको मूल्य नदिने सञ्चार संस्थालाई सरकारी सुविधा र अनुदान दिन बन्द गर्नुपर्नेमा यो भेला जोडदार माग गर्दछ । साथै पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न र मोफसलको सञ्चार माध्यम तथा संचारकर्मीकोलागि छुट्टै निति बनाउन अपिल गर्दछौं ।
३. सञ्चार क्षेत्र र पत्रकारको क्षमता विकासकालागि गठन गर्ने भनिएको आमसञ्चार प्रतिष्ठानलाई नामको आधारमा राजनीतिक रंग दिएर तुहाउने काम नगरियोस् । विवाद निकालेर पत्रकारलाई दक्ष बनाउने कुरामा खेलवाड गर्नु दुःखद कुरा हो । त्यसैले पत्रकार–पत्रकारकैबीचमा विवाद गराउने र आमसञ्चार प्रतिष्ठानलाई तुहाउने खेल नहोस र तुरुन्त गठन गरियोस् भन्ने यो भेला अपिल गर्दछ ।

४. लामो समयसम्म चलेको तराई(मधेश लगाएत अग्रगामी परिवर्तनको लागि भएका आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरी प्रशासनको आक्रमणमा परेर घाइते भएका सञ्चारकर्मीहरुको उपचार व्यवस्था, सञ्चारकर्मी र सञ्चारमाध्यमको भौतिक क्षतिको क्षतिपूर्ति र आक्रमणमा संलग्नमाथि तुरुन्त कानुनी कारवाही गर्न यो भेला सरकारसँग माग गर्दछ ।

५. नाकाबन्दी तथा आन्दोलनका कारण उत्पन्न संकटका कारण मिडिया उद्योग धराशयी बन्दै गएकोमा त्यस प्रती भेलाले चिन्ता व्यक्त गरेको छ । यही कुरालाई बहाना बनाएर कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निष्कासन गर्ने, करार अवधि नवीकरण नगर्ने, समयमै पारिश्रमिक भुक्तानी नगर्ने, सुविधाहरुमा कटौती गर्ने जस्ता कार्यहरु गरेकोमा भेलाले त्यसको घोर भर्त्सना गर्दै त्यस्ता कार्यहरु नगर्न सञ्चारमाध्यममा व्यवस्थापन पक्षलाई अपील गर्दछ ।

६. नेपाली पत्रकारिता र पत्रकारबीच राजनीतिक आस्था, समुदाय, भूगोल वा अन्य कुनै पनि आधारमा विभेद र विभाजन गर्न खोज्नु दुःखद कुरा हो । त्यसैले कुनै पक्ष वा विपक्षमा नलागि विश्वास र सहकार्यको भावनाका साथ मुलुकको सम्मृद्धि एवं पत्रकारिताको विकासमा एकताबद्ध भएर क्रियाशील हुन सम्पूर्ण पत्रकारहरूलाई अपिल गर्दछौं ।