काठमाडौं माघ २७ । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको पार्थिव शरीरमा राजकीय सम्मानकासाथ आज अन्त्यष्टी गरिएको छ ।
कोइरालालाई उहाँका भतिजा अतुल कोइराला र सिद्धार्थ कोइरालाले दागबत्ति दिनु भएको थियोे । दागवत्ति दिनेबेलामा सेनाको टुकडीले राष्ट्रिय गानको धुन बजाउनुका साथै खटिएका सुरक्षाकर्मीले आफ्नो हतियार झुकाएर सम्मान प्रकट गरेका थिए ।
दागबत्ति दिनुअघि प्रधानमन्त्री केपी शर्मा ओली , सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, सरकारी उच्च अधिकारी लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । दिउँसो सवा दुई बजेपछि दशरथ रङ्गशालाबाट स्वर्गीय सुशील कोइरालाको शवयात्रा सुरु गरिएको थियो । नेपाली सेनाको लु १ ग १४५ नम्बरको भ्यानमा कोइरालाको पार्थिव शरीर राखिएको थियो ।
शवयात्रा सुरु हुँदा राष्टिय गीतको धुन बजाइएको थियो । शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइएको थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाद्वय अतुल कोइराला र सुदाम्सु कोइराला, शुभचिन्तक तथा सर्वासाधरणको शवयात्रामा उपस्थिति रहेको थियो ।
हिजो बिहान १२ बजेर ५० मिनेटमा निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेपाली काँग्रेसले बिद्युतीय शव दाह गृहमा उहाँको अन्त्येष्टि गर्ने बताएको भए पनि आफन्तजनको इच्छामा राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ ।
