आज कोइरालाको शव विद्युतीय शवदाहगृहमा अन्त्यष्टि गरिने

Avatar photo
Dhadingpost
बुधबार, माघ २७, २०७२

काठमाडौं माघ २७ । हिजो निधन भएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको आज अन्त्यष्टि गरिने भएको छ ।
राजकीय सम्मानका साथ उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । स्वर्गीय कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
शवयात्रा त्रिपुरेश्वरबाट सुरु भएर पुतलीसडक–कमलपोखरी–मैतीदेवी–गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । स्वर्गीय कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारले बताएको छ । शोक मनाउन आज सार्वजनिक बिदा दिइएको छ भने आजदेखि पर्सीसम्म देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि भएको छ । राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मा दिइएको छ ।
आज दिउँसो २ बजेसम्म उहाँको पार्थिव शरीर दशरथ रंगशालामा राखिनेछ भने त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उहाँकोे विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित रङुगशालामा कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको आज पनि भीड लागेको छ । कोइरालाको मंगलबार बिहान करिब १ बजे निधन भएको थियो ।
स्वर्गिय कोइराला नेपालका ३७ औं प्रधानमन्त्री बन्नु भएको थियो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित बन्नु भएको थियो । हाल कोइराला नेपाली कांग्रेसका सभापति हुनुहुन्थ्यो । सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा सन् १९३९ मा भएको थियो । कोइराला अविवाहित हुनुहुन्थ्यो । वन अधिकृत बोधप्रसाद कोइराला जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुग्नु भएको थियो । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो ।