जनसहभागितामा आधारित सौर्य सडकबत्ती प्रयोग हुने

Avatar photo
Dhadingpost
आइतवार, माघ १७, २०७२

solar.काठमाडौं माघ १७ रात्रिकालीन आवागमन सहज तुल्याउन र सडक बत्तीको प्रयोगबाट हुने विद्युत भार र महसुल कम गर्न सरकारले जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम अघि बढाउने भएको छ ।
सौर्य सडकबत्ती जडानबाट हाल प्रयोगमा आएको करिब ६ मेगावाट विद्युत्को खपत घट्ने, सहर बजारका सार्वजनिकस्थल उज्यालो हुने र रात्रिकालीन क्रियाकलाप सहज तुल्याउन सकिनेभन्दै विस्तृत कार्यविधि तयार पारिएको आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जानकारी दिनुभएको हो ।
करिब एक अर्ब ४२ करोड रुपँैयाको लागतमा ७०० किलोमिटर सडकमा यो बत्तीको प्रयोग गरिने छ । यसका लागि सरकारले रु एक अर्ब छुट्याएको र बाँकी रु ४२ करोड स्थानीय निकाय तथा जनताको सहभागिता जुटाइने छ ।
महानगरपालिकाभित्र सरकारबाट ६० प्रतिशत, महानगरपालिकाबाट २५ प्रतिशत र स्थानीय उपभोक्ताबाट १५ प्रतिशत व्यहोर्नुपर्ने छ । उपमहानगरपालिका, नगरपालिका तथा गाविसको हकमा सरकारबाट ६५ प्रतिशत र स्थानीय निकायबाट २० प्रतिशत र उपभोक्ताबाट १५ व्यहोर्ने गरी सो कार्यक्रम सञ्चालन हुने छ । अति विपन्न बस्तीमा भने सरकारबाट ७० प्रतिशत, सम्बन्धित स्थानीय निकायबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत व्यहोर्नुपर्ने छ ।
अस्पताल, विश्वविद्यालय, विद्यालय, सरकारी कार्यालय, सुरक्षा निकाय तथा सरकारी निकायको हकमा भने ७० प्रतिशत सरकारबाट र ३० प्रतिशत त्यस्ता निकायबाट व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।