काठमाडौं/ प्रगतिशील लेखक सङ्घलाई विप्लव माओवादीनिकट सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले ३१ बुँदे सुझावपत्र बुझाएको छ ।
महासङ्घका केन्द्रीय कार्यालय सदस्य खेम थपलियाको नेतृत्वमा गएको टोली सुझावपत्र बुझाएको हो । टोलीले प्रलेसका अध्यक्ष कमर गिरीलाई उक्त सुझापत्र बुझाएको हो । त्यस अवसरमा प्रलेसका उपाध्यक्ष मातृका पोखरेल र महासचिव मित्रलाल पंज्ञानी पनि उपस्थित हुनुहुन्थ्यो ।
केन्द्रीय कार्यालय सदस्यहरू कुशल बोगटी र विवेक सापकोटासमेत भएर बुझाइएको सो सुझावपत्रमा भनिएको छ– ‘प्रगतिशील लेखक सङ्घ सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा प्रभुत्ववाद विरोधी स्रष्टाहरूको साझा मोर्चा हो ।
यो नै यसको वैचारिक एवम् नीतिगत नाभीकीय आधार पनि हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अँगाल्ने प्रगतिवादी स्रस्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् ।
त्यसका निमित्त प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु आजको आवश्यकता हो ।
वस्तुगत अवस्था र आवश्यकताअनुसार विकास गर्न नसकिए यसको औचित्यमाथि प्रश्नचिन्ह उठ्नु स्वाभाविक बन्न जान्छ ।
प्रलेसको औचित्य सावित गर्न एवम् यसको अविरल यात्रालाई सुनिश्चित गर्न नेपाली समाजको समकालीन वर्गचरित्रको ठोस विश्लेषण र अग्रगामी पहलकदमी पहिलो शर्त बन्ने कुरा स्वतःसिद्ध छ ।
प्रतिक्रियावादी सत्ताको तावेदारीका विरुद्ध आन्दोलित हुनु र अग्रगामी निरन्तर प्रवाहमा हेलिनु प्रलेसको मूल चरित्र हो र हुनुपर्छ ।’
यसैमा केन्द्रित रहेर सो टोलीले ३१ बुँदामा केन्द्रित भएर सुझाव प्रस्तुत गरेको हो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य माइला लामाद्वारा हस्ताक्षरित सो सुझावपत्रको बोधार्थ पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द ‘विप्लव, मोहन वैद्य ‘किरण’, केपी शर्मा ओली र मणि थापालाई समेत दिइएको छ ।