४६ हजार जना मूर्ख भइसके, तपाईँ नबन्नुस्

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १२, २०७२


आज फेसबुक चलाउँदै गर्दा वालमा एउटा लिङ्क भेटियो। फेसबुकमा फ्रेन्ड रहेका कसैले लाइक वा सेयर अथवा कमेन्ट गरेकै भएर वालमा देखिएको थियो। यसो हेर्ने बित्तिकै यो फेक पेजले गरेको वाहियात मान्छे झुक्याउने काम हो भनेर बुझिसकेको थिएँ। यसो हेरेको त चिनेजानेका अझ प्रतिष्ठितहरुले समेत लाइक गरेका रहेछन्। यो वाहियात हल्लालाई लाइक गरेर दुई दिनमा ४६ हजारभन्दा बढी मान्छे मूर्ख भइसकेका रहेछन्। २६ हजारले साँच्चिकै आइफोन वा ल्यापटप पाइन्छ भन्ठानेर मलाई यस्तो रङको चाहियो भनी कमेन्ट लेख्न भ्याइसकेछन्। २२ हजारले यस्तो वाहियात हल्ला आफ्नो वालमा सेयर गरेछन्। फेसबुक चलाउनेहरु निरक्षर हुन्नन्। तर धेरै दिमाग लगाउन पनि नपर्ने, यसो हेर्ने बित्तिकै थाहा हुने यस्तो बकम्फुसे कुराका पछाडि पनि किन लाग्छन् होला मान्छे? के कारण यति धेरै मान्छे मूर्ख भए? खास कुरा के हो? कसले किन यस्तो हल्ला गरेको? विस्तृत पढ्नुस्।

हल्लाखोरले आफ्नो हल्लालाई विश्वासिलो बनाउन कान्तिपुरको ब्रान्ड र लोगोको गलत उपयोग गरेको छ। कानुनतः यो दण्डनीय विषय हो। कान्तिपुर न्युजपेपर लेखिएको पेज हुने बित्तिकै विश्वास गर्नु नै मान्छे मूर्ख हुनुको एउटा कारण बनेको छ।

तर अलिकति मात्रै ध्यान दिने हो भने पनि यो फेक पेज हो भन्ने कुरा प्रष्टै हुन्छ।

पेजको नाम चैँ कान्तिपुर न्युज रे अनि लोगो चैँ कान्तिपुर टिभीको छ। यति नमिल्दो कुरा पनि पत्याउने?

त्यस्तै यो पेज भर्खर अर्थात् २०१६ को जनवरीमा खोलिएको छ। कान्तिपुर जस्तो पुरानो मिडियाले पनि भर्खर पेज खोल्छ? यति नमिल्दो कुरा पनि पत्याउने?

यो पेजमा एउटा पनि समाचारमा कान्तिपुरको लिङ्क राखिएको छैन। यति नमिल्दो कुरा पनि पत्याउने?

जुन पोस्ट ४६ हजार जनाले लाइक गरे त्यसमा लेखिएको छ-

जित्नु होस FREE गिफ्ट 10 iphone 6 & 10 Apple Laptops
हामी 10 ओटा Iphone 6 र 10 वटा Apple Computers यो 31/January मा फ्री मा दिदै छौ.

गल्ती नै गल्ती। कान्तिपुर जस्तो मिडियाले यति अशुद्ध लेखेर पोस्ट गर्छ? फेरि त्यहाँ हेर्नुस् पहिलो वाक्यमा Apple Laptops रे अनि दोस्रो लाइनमा Apple Computers रे। यो लेख्नेलाई एप्पल ल्यापटप वा कम्प्युटर के हुन्छ भन्ने नै थाहा रहेनछ। एप्पलको कम्प्युटरलाई म्याक र ल्यापटपलाई म्याकबुक भनिन्छ भन्ने लेख्नेलाई त थाहा भएन नै त्यो पाइन्छ भनेर आश गरेर लाइक गर्नेले त थाहा पाउनु पर्ने नि!
कसले चलायो यस्तो वाहियात पेज र हल्ला?

कसले चलाइरहेको छ त यस्तो वाहियात पेज? फेसबुकमा पेज कसले बनाएको थाहा पाउन गाह्रो हुन्छ। तर पेज बनाउने मान्छे अलिकति हुस्सु भइदियो भने चैँ पत्ता लाग्न सकिन्छ।

यो पेजको फोन नम्बरमा हुस्सुले शायद आफ्नै फोन नम्बर हालेका रैछन्- +1 443-629-4546। खोजी हेर्दा यो अमेरिकाको बोस्टन बाल्टिमोरतिरको नम्बर रैछ।

किन यस्तो गरेको त?

सित्तैमा आफ्नो पेजको लाइक त्यसको इन्गेजमेन्ट धेरै बढाउन। ताकि भोलिपर्सि यही पेजबाट ब्लगस्पटमा खोलिएका वाहियात समाचार शीर्षक लेखेर भिडियो हेर्न क्लिक गर्नुस् भन्ने अनि त्यसको मुनि गुगलको विज्ञापन राखेर मूर्ख भिजिटरहरुलाई त्यसमा क्लिक गर्न लगाएर बसी बसी पैसा कमाउन पाइयोस्।

मैले यो पेज लाइक, सेयर वा कमेन्ट गरेको रहेछु, के गर्ने?
डिलिट गर्ने। याद गर्नुस् तपाईँको लाइक, सेयर वा कमेन्टले यस्तो हल्ला अझ दुईबाट चार, चारबाट १६ गरी फैलाउन मद्धत गरिरहेको हुन्छ। पेजलाई ब्लक गरिदिनुस्। कसरी गर्ने थाहा भएन?

यसो गर्नुस्। सबैभन्दा पहिला पेजमा क्लिक गर्नुस्


त्यसपछि … लेखिएको ठाउँमा क्लिक गर्नुस् र block page लेखिएकोमा क्लिक गर्नुस्। यस्तो पेज खुल्नेछ-

अब Confirm लेखिएकोमा क्लिक गर्नुस्। बस्, तपाईँले मुक्ति पाउनु भयो।

अरु पनि यस्तै हल्लाखोर पेजहरु भेटिएमा यही उपाय अपनाएर ब्लक गरिदिनुभएमा यस्ता हल्ला मच्चाउनेहरु हार्ने थिए।

अनि फेसबुकमा नराम्रो कुरा चाँडो फैलिन्छ, राम्रो र सत्य कुरा फैलिँदैन भन्ने कुरालाई गलत साबित गर्न यो ब्लगलाई फेसबुकमा सेयर गरी थप मान्छेलाई मूर्ख हुनबाट जोगाउने कि ! साभारः मेरो संसार