पेट्रोलियम पदार्थको मूल्य घट्यो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ५, २०७२

काठमाडौं माघ ५ गते । नेपाल आयल निगमले गएराती देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टितेलमा ६ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको बुझिएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर अब ९९ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेलको प्रतिलिटर ७५ रुपैयाँ पर्छ । यसअघि पेट्रोल प्रतिलिटर १०४ र डिजेल र मट्टितेल ८१ रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । यस्तै, २३२ रुपैयाँ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य १६४ रुपैयाँ भएको छ । निगमले खाना पकाउने ग्यासको भने मूल्य घटाएको छैन ।