काठमाडौं- पहिचान लुकाएर सामाजिक सञ्जाल (फेसबुक, टि्वटरलगायत) मार्फत अपराधजन्य गतिविधि गर्नेहरूका लागि दुःखद खबर छ। अब पहिचान लुकाएकै भरमा कानुनी कारबाहीबाट उम्कने सम्भावना समाप्त भएको छ। ‘फेक एकाउन्ट’ मार्फत समाजिक सञ्जाल चलाउने व्यक्तिलाई चिन्ने प्रविधि प्रहरीले भित्र्याउँदै प्रहरीले डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको छ।
प्रविधिको प्रयोगमार्फत गम्भीर प्रकृतिका अपराध बढेसँगै अनुसन्धानलाई प्रमाण र परिमाणमुखी बनाउन प्रहरी प्रधान कार्यालयले डिजिटल ल्याब प्रयोगमा ल्याएको हो जसले कम्प्युटर, मोबाइल अनि नेटवर्कमार्फत अपराधजन्य गतिविधि गर्नेलाई चिन्न सहज बनाएको छ।
सामाजिक सञ्जालमार्फत हुने अपराधजन्य घटनाको उजुरी बढेपछि प्रहरीले २०६६ बाटै साइबरक्राइमसम्बन्धी घटनाको अनुसन्धान थाले पनि परीक्षण किट र ल्याब भने थिएन। प्रमाणित सफ्टवेयरको अपराधमा संकलन हुने प्रमाणको आधिकारिकताको अभावमा अभियुक्तले सजायबाट उन्मुक्ति पाउने सम्भावना उस्तै थियो।
अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष ३० हाराहारीमा प्रहरीमा साइबर अपराधसम्बन्धी उजुरी आउने गरेका छन्। २०७०–७१ मा ३९ वटा र ०७१–७२ मा ३५ वटा यस्ता उजुरी परेका थिए। प्रहरीमा पर्ने यस्ता उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालसँग सम्बन्धित हुने गरेको छ।
प्रधान कार्यालयले बिहीबारबाट दक्ष जनशक्तिसहित अनुसन्धानमा प्रयोग हुने आधुनिक उपकरणयुक्त डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा ल्याएको हो। साइबर क्राइम अनुसन्धानलाई प्रभावकारी बनाउन अपराध अनुसन्धान विभागले २ साता अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखालाई फिल्ड फरेन्सिक किट उपलब्ध गराइसकेको छ।
ल्याबमा डिजिटल इन्टेलिजेन्स अमेरिकाको प्रविधि उपयोग गरिएको छ जसले इमेल गेटवेको पहिचानदेखि सामाजिक सञ्जालको निगरानीलाई थप सहज बनाउने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्। अनुसन्धानमा प्रयोग गरिएको प्रविधि विश्वव्यापी मान्यताप्राप्त भएकाले संकलित प्रमाण राष्ट्रिय र अन्तर्राष्ट्रिय अदालतबाट समेत स्वीकार्य हुने जानकार अधिकारी बताउँछन्।
ल्याब स्थापनासँगै प्रविधिजन्य सामग्री पेन ड्राइभ, मोबाइल, कम्प्युटरको तथ्यांक, सामाजिक सञ्जाल, इमेल र कम्प्युटर प्रयोगकर्ताको पहिचान र त्यसको प्रयोग गरी भएको आपराधिक गतिविधिको फेहरिस्त संकलन सहज बनेको प्रहरी अधिकारी बताउँछन्। जानकार अधिकारीका अनुसार मोबाइल फरेन्सिक सफ्टवेयर प्रयोगबाट अनुसन्धानको दायरामा तानिएको मोबाइलमार्फत भएका गतिविधि, तथ्यांक र प्रमाण संकलन गर्न सकिनेछ।
बिहीबार ल्याबको प्रारम्भ गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ९० प्रतिशत अपराधमा कुनै न कुनै रूपमा प्रविधि जोडिने गरेकाले अनुसन्धान परिमाणमुखी बनाउने प्रयास गरिएको बताए। उनले अपराध डिजिटल र अपराधी अत्याधुनिक प्रविधिले सम्पन्न भइसकेकाले प्रहरीले पनि डिजिटल साधनस्रोत र दक्षता अभिवृद्धि गरेर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने बताएका थिए। प्रधान कार्यालयका अनुसार बढ्दो साइबर क्राइमको चुनौती सामना गर्न अनुसन्धानका लागि एसपीको कमान्डमा ६ जना परिचालन गरिएको छ।
बयानमुखी अनुसन्धान पद्धतिलाई विस्थापित गर्दै प्रमाणमुखी बनाउन प्रहरीले यसअघि पोलिग्राफ परीक्षण र डिजिटल फिंगरप्रिन्ट प्रविधि प्रयोगमा ल्याइसकेको छ। विभागका डिआइजी नवराज सिलवालका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, सिआइबी लगायतका कार्यालयमा प्रयोग भइरहेको पोलिग्राफ परीक्षण सेट १९ वटा छन् जसका लागि २७ दक्ष जनशक्ति खटाइएको छ। नागरिक दैनिक