अख्तियारले पत्र काटेका अनुहार– १ को हुन् राजेन्द्र पाण्डे ?

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २३, २०७२

rajendra-pandey
काठमाडौं– करोडौं सम्पत्तिका मालिकका रुपमा सानको जिन्दगी बिताइरहेका एमाले पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन् । ‘स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आशंका’मा अख्तियारले छानबिन थालेपछि एमालेभित्र पनि खैलाबैला मच्चिएको छ । अख्तियारले विभिन्न बैंकहरूलाई पाण्डेको नाममा रहेको बैंक लकर रोक्का गर्नसमेत निर्देशन दिइसकेको छ ।
एउटा सामान्य शिक्षकबाट करियर सुरु गरेका राजेन्द्र पाण्डेले आफ्नो चलाख दिमागको उपयोग गरेर राजनीतिक र आर्थिक उचाई हासिल गरेको उनका सहकर्मीहरू बताउँछन् । ०१३ साल जेठ २९ गते धादिङको गजुरी–८ मा नेत्रराज पाण्डे र मनमाया पाण्डेको छोराका रुपमा जन्मिएका राजेन्द्रले गजुरीमै धेरै वर्ष शिक्षक भएर काम गरेका थिए । ०३४ सालदेखि ०४२ सालसम्म शिक्षण पेसामा रहेका पाण्डेले शिक्षक व्यक्तित्वकै आडमा आफूलाई राजनीतिमा होमेका थिए ।

असल पञ्च’देखि एमालेसम्म

कुनै बेला ‘असल पञ्च हुनुपर्छ’ भन्दै पञ्चायतमा लागेका पाण्डे ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए । त्यसबेला उनी पराजित भएका थिए । ०४४ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएर उनले आफूलाई पञ्चको रूपमा स्थापित गरेका थिए ।
एकातिर पञ्च बनेर पञ्चायतका सुविधा र लाभ पनि लिने र अर्कोतिर भित्रभित्र कम्युनिस्ट पनि हुने उनको दोहोरो भूमिका थियो । यो विषय अहिले धादिङमा एमालेका नेता–कार्यकर्ताबीच बेला–बेला चर्चा हुने गरेको छ । ०३३ सालमा केन्द्रीय कारागारमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका पाण्डे दुई कार्यकालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको धादिङ जिल्ला अध्यक्ष भएका थिए । ०३६ सालमा नेकपा मालेको धादिङ जिल्ला सचिव भए ।
०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि गजुरीबाट काठमाडौंतर्फ लागेका पाण्डे त्यसपछि भने काठमाडौंमै बस्दै आएको एमालेका नेता बताउँछन् । ०५० देखि ०५६ सालसम्म उनी एमाले वागमती अञ्चल सचिव भए, त्यसपछि केन्द्रीय सदस्य र ०६५ यता उनी पोलिटब्युरो सदस्य भएका हुन् । ०५१ सालमै संसदमा एमालेको प्रमुख सचेतक भएका पाण्डे ०६५ सालमा स्थानीय विकासमन्त्री भए । त्यही बेला उनले गरेको काम–कारबाहीलाई अख्तियारले चासोका साथ हेरेको स्रोत बताउँछ ।
शिक्षक, पञ्च, माले, एमाले हुँदै अहिले सहकारी आन्दोलनका अग्रणी नेता र ‘मेडिकल कलेज सञ्चालक’का रुपमा आएका पाण्डेले राजनीति र सहकारी आन्दोलनको नाममा अकुत सम्पत्ति कमाएको उजुरी पनि अख्तियारमा परेको स्रोतको भनाइ छ । अहिले उनको आर्थिक प्रगति नजिकबाट देख्नेहरूले ‘राजनीतिमा लागेर पाण्डेले यति छोटो अवधिमा कसरी करोडौं कमाए’ भनेर आश्चर्य व्यक्त गर्ने गर्छन् ।

निर्वाचनमा करोडौं खर्च
उनको आर्थिक स्रोत के थियो भनेर संविधानसभा निर्वाचनमा पनि प्रश्न उठेको थियो । गएको संविधानसभा निर्वाचनमा विजयी हुन निर्वाचन आचारसंहिता विपरीत करोडौं खर्च गरेको आरोप उनीमाथि लागेको थियो । पाण्डेले चुनाव जित्न धादिङका चेपाङ बस्तीहरूमा रक्सी र पैसा बाँडेको समेत आरोप लागेको थियो । पटक–पटक खसी ढालेर भोज पनि लगाएको भनी विपक्षीले आवाज उठाएका थिए ।
चुनाव खर्चका लागि उनले सुरुमा स्वयम्भूमा दुई रोपनी जग्गामा बनेको आफ्नो घर पनि बेचेका थिए । पाण्डेले त्यही घर बेचेको करिब ६ करोड रुपैयाँ चुनावमा खर्च गरेको हुन सक्ने धेरैको अनुमान थियो । तर, घर बेचेको पैसा सुरक्षित राखेर उनले आफ्नै सहकारीको पैसा चलाएको उनीमाथि गम्भीर आरोप लाग्यो । तर, पाण्डेले यसबारे मुख खोलेनन् ।
उनले त्यसबेला आफू अध्यक्ष रहेको सहकारीकै करिब पाँच करोड रुपैयाँ खर्च गरेको भन्दै व्यापक विरोध पनि भएको थियो । पाण्डेले नेपाल स्वास्थ्य सहकारी संघको कोषमा रहेको पैसा चुनाव खर्चका लागि झिकेको सहकारी सूत्रले नै त्यसबेला जनाएको थियो । पाण्डे कोषका अध्यक्ष थिए । उनले सहकारीका कोषाध्यक्ष एवं अर्का एमाले नेता वंशीधर मिश्रसँगको मिलेमतोमा यसरी कोषको पैसा आफूखुसी खर्च गरेको पनि आरोप लागेको थियो । मिश्र पनि अहिले अख्तियारको छानबिनको घेरामा छन् ।
एमालेका नेता कार्यकर्ता र धादिङका व्यवसायीको करोडौं रकम जम्मा भएको सहकारीमा पाण्डेले सहकारीका अन्य सदस्यको राय नलिई आफूखुसी करोडौं रकम खर्च गरेको खबरले सहकारी सदस्य रुष्ट बनेका थिए ।
‘पाण्डेजीले ऋणको रुपमा करिब पाँच करोड निकासा गरेको भन्ने सुन्यौं, त्यसरी अध्यक्ष र कोषाध्यक्ष मिलेर आफूखुसी रकम खर्च गर्न पाइँदैन,’ एक सहकारी सदस्यले चुनावताकै रातोपाटीलाई बताएका थिए ।
सहकारीको रकम सहकारीको उद्देश्य र सामूहिक हितबमोजिमका काममा लगानी गर्नुपर्ने र सहकारीको रकम निर्वाचन प्रचारमा खर्च गर्नु सहकारी सिद्धान्त र उद्देश्य विपरीत भएको सहकारी आन्दोलनकर्मी बताउँछन् ।
मनमोहन अधिकारीजस्ता नेताको नाममा स्थापित सहकारीलाई पाण्डेले दुहुनो गाई बनाउन थालेपछि कतिपय सहकारी सदस्यले यसबाट हात झिकेका थिए । नेपाल स्वास्थ्य सहकारी संस्थाले देशका पाँचवटै विकास क्षेत्रमा सहकारी अस्पताल सञ्चालन गरिरहेको छ । यसले इटहरी, बुटवल, लालबन्दी, सुर्खेत र कैलालीमा सहकारी अस्पताल सञ्चालन गरेको छ । संस्थाले मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्सको नामबाट मेडिकल कलेजसमेत सञ्चालन गरिरहेको छ ।

मेडिकल शिक्षामा चासो
एकातिर सहकारी आन्दोलनका नाममा सहकारी सदस्यहरूको रकममा चलखेल गर्दै आएका पाण्डेलाई पछिल्ला दिनमा ठूलै ‘मेडिकल कलेज माफिया’ भन्नेहरू पनि छन् । ‘शिक्षा र स्वास्थ्यका नाममा व्यापार गर्न पाइँदैन’ भनेर कुनै बेला संसदमा आवाज उठाउने पाण्डे कालान्तरमा आफैँ शिक्षा र स्वास्थ्यको व्यापारीकरणमा लागेको आरोप लाग्ने गरेको छ । खासगरी गोविन्द केसीले मेडिकल क्षेत्रमा व्याप्त माफियातन्त्रको विरोधमा आमरण अनशन सुरु गरेपछि पाण्डे ‘माफिया’ को पक्षपोषण गर्दै अनशनको खिलाफमा उभिएको सम्मको आरोप लाग्यो । उनले मेडिकल कलेजहरूलाई सम्बन्धन नदिए संविधानसभा भवनमै आमरण अनशन गर्ने उदघोषसमेत गरेका थिए ।
मनमोहन मेमोरियल मेडिकल कलेजमा ७० भन्दा बढी सेयरधनी एमाले नेता र एमाले निकट चिकित्सक छन् । राजेन्द्र पाण्डे, डा. वंशीधर मिश्र, जीवन शर्मा, रामकुमार अधिकारी, केपी सिम्खडा, माणिकलाल मानन्धर, डा. जागेश्वर गौतम, सोमनाथ अर्याल र वशिष्ठ रिजालगायत एमालेनिकट मानिसहरू रहेको यो कलेजका हर्ताकर्ता भने पाण्डे नै हुन् । यही कारण विभिन्न पाण्डेले मेडिकल कलेजहरूलाई सम्बन्धन दिनुपर्ने लबिङ गर्दै आएको उनीमाथि आरोप लाग्दै आएको छ । यो कलेजमा एमालेका एक सय ४५ भन्दा बढी सभासदको लगानी भएकाले मेडिकल कलेजहरूलाई सम्बन्धन दिन एमाले सभासदहरूले पनि व्यापक आवाज उठाएका थिए ।
अख्तियारले पाण्डेविरुद्ध आवश्यक सम्पूर्ण प्रमाण संकलन गरेरै छानबिनको प्रक्रिया थालेकाले यसपटक उनलाई उम्किन हम्मे पर्न सक्ने अख्तियार सूत्र बताउँछ । हालसम्म पाण्डेले गरेका कामको फेहरिस्त अख्तियारले सार्वजनिक नगरे पनि मुद्दा चलाउने बेला सबै प्रमाण पेस गरिने एक आयुक्तले रातोपाटीलाई बताए ।

डन ‘चरी’का संरक्षक

पाण्डे गत वर्ष मारिएका डन दिनेश अधिकारी चरीका संरक्षक पनि मानिन्छन् । उनले चरी मारिँदा पनि आवाज उठाएका थिए । सोही कारण गत वर्ष साउनमा पाण्डेसहितको एक टोली तात्कालीन गृहमन्त्री वामदेव गौतमको निवासमा घेराउ गर्न गएको थियो ।
पाण्डेले त्यसबेला भनेका थिए, ‘चरी एमालेका असल, इमानदार र जुझारु कार्यकर्ता हनुहुन्थ्यो, एमालेलाई कमजोर बनाउन उहाँलाई षड्यन्त्रमूलक ढंगले मारिएको हो । उहाँ भिडन्तमा मारिनुभएको हैन ।’
चरी इन्काउन्टरमा मारिँदा एमाले उपाध्यक्ष वामदेव गौतम गृहमन्त्री थिए । त्यसो त चरीले पार्टी अध्यक्ष निवास बालकोटमा पनि सम्बन्ध राम्रो बनाइसकेका थिए ।

कार्कीले पूर्वाग्रह साँधे, पार्टीले प्रतिरोध गर्छ : राजेन्द्र पाण्डे
म देशभक्त नेपाली हो । १६– १७ वर्षको उमेरदेखि देशमा लोकतन्त्र ल्याउनको लागि संघर्ष गरेको मान्छे हुँ । अहिले पनि देश आत्मनिर्भर हुनुपर्छ, आर्थिक रुपमा देशलाई सबल बनाउनुपर्छ भनेर मैले भन्दै आएको छु । निस्वार्थ ढंगले देशको जनताका लागि यति लामो समय समर्पित भए पनि अख्तियारले जसरी पत्र काटेको छ, त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पूर्वाग्रह साँधेर चालेको कदम हो ।
जनआन्दोलनपछि बनेको गिरिजाबाबु नेतृत्व सरकारमा मेरो पनि सहभागिता थियो । अहिलेका प्रधानमन्त्री केपी ओली त्यतिबेला उपप्रधानमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला जनआन्दोलन दबाउन भूमिका खेल्ने व्यक्ति भनेर कार्कीलाई मुख्य सचिवबाट हटाइएको थियो । पछि फेरि उनलाई प्रमुख आयुक्त बनाउने बेला मलगायत सुरेन्द्र पाण्डे र अरु साथीहरूले पार्टीको पोलिटब्युरो बैठकमा बदनाम मान्छेलाई प्रमुख आयुक्त बनाउन हुँदैन भनेर धारणा राखेका थियौं । अहिले त्यसकै रिसिइबी साँध्न उनले छानिछानी कारबाही गरेका हुन् ।
अहिले नेपालमा भारतले नाकाबन्दी गरेको र देशभित्रै पनि संकट भइरहेका बेला देशमा थप अस्थिरता निम्त्याउनका लागि यो हर्कत भइरहेको छ । नेपाललाई सिक्किमीकरण गर्ने खेल भइरहेको छ । यसविरुद्ध सबै चनाखो हुनु जरुरी छ । यसबारे हामीले पार्टीमा जानकारी गराइसकेका छौं । पार्टीले पनि यसविरुद्ध प्रतिरोध गर्छ ।

अख्तियारको कारबाहीप्रति नेता नेपालको आपत्ति

एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले मंसिर २० गते भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अख्तियारको कारबाहीप्रति कडा आपत्ति जनाएका थिए । ‘अति भो !” अख्तियारले सरकारी ओहोदामा रहेर अकूत कमाउनेलाई केही नगर्ने तर संलग्न नै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको ? उनले प्रश्न गरेका थिए, ‘निजी व्यापार गरेका र कुनै पनि अख्तियार दुरुपयोग नगरेका व्यक्तिलाई बिनाकारण मुछ्नु गलत भएको छ ।’
अख्तियार दुरुपयोग आयोगले रिस साँध्यो : पूर्वअर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि रिस साँधेको बताएका छन् । भरतपुरमा मंसिर २० गते पत्रकारसँग कुराकानी गर्दै उनले गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको बताएका थिए । ‘तपाईंहरू सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले बोलाउँदा आउने÷नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला ।’ पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पाण्डेले भनेका थिए, ‘आफ्नो जिम्मेवारीलाई यसरी गलत ढङ्गबाट प्रयोग गर्नु हुँदैन ।’ उनले आफूले एक सुका तलमाथि कतै नगरेको जिकिर पनि गरेका थिए । रातोपाटी