गाडीको ठक्करले कल्लेरीका मनोजको जापानमा मृत्यू

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १५, २०७२

Accident-Jpn1टोकियो (जापान), १४ कात्तिक । जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् ।

एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२ः५० मा एहिमेको माचुयामा सहरमा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उपचारार्थ लगिए पनि स्थानीय अस्पतालले राति १ः३० बजे मृत घोषणा गरेको थियो ।

जापानको मध्यपश्चिम क्षेत्रअन्तर्गत ओसाका र फुकुओकाबीचमा पर्ने एहिमे प्रान्तको माचुयामा सहरमा बस्दै आएका खतिवडाले दुई वर्षे भाषा अध्ययन र दुई वर्ष प्राविधिक शिक्षा पूरा गरी ओसाकाको हायात होटलबाट एक वर्षअघिमात्र आना कम्पनीमा प्रवेश गरेका थिए ।

चार वर्षदेखि परिवारसहित बस्दै आएको खतिवडाको नेपालमा पनि आफन्त नरहेको बताइए पनि पुष्टि हुन सकेको छैन ।