अब बाबुरामको बाटो कता ?

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १२, २०७२

baburamमिलन तिमिल्सिना ।
एकीकृत नेकपा माओवादीलाई अहिलेको अवस्थामा ल्याउन मात्र होइन, देशको शान्ति प्रक्रिया र संविधान निर्माणको काममा निकै महत्वपूर्ण भूमिका खेलेका डा. बाबुराम भट्टराईले अचानक पार्टी छाड्दा सबैलाई आश्चर्य लागेको छ ।

संविधान निर्माणको विषयमा केही दिनदेखि असन्तुष्टी जनाउँदै आएपनि भट्टराईले पार्टी नै छाड्लान् भन्ने कसैले सोचेका पनि थिएनन् । शनिबार भट्टराईको निम्तो पाएर पत्रकार सम्मेलनमा पुगेका पत्रकारले समेत उनले पार्टी छोडेको घोषणा गर्न बोलाएका हुन् भनेर अड्कल गर्न सकेका थिएनन् । यसअघि पनि पार्टी नेतृत्व र निर्णयको आलोचना गर्नेे भट्टराईले यसपटक पनि आफ्नो यही बानीलाई निरन्तरता दिएका मात्र हुन् भन्ने धेरैलाई लागेको थियो । तर लामो समयसम्म बसेको र रगत पसिना बगाएर बनाएको पार्टीलाई भत्केको घरको संज्ञा दिंदै भट्टराईले कुनै हालतमा पुरानो घर नफर्कने भन्दै बाटो लागे ।

घर छाडेर बाटो लाग्नुअघि आफूलाई सबैभन्दा धेरै विश्वास गर्ने घरमूली प्रचण्डलाई समेत केही भनेनन् । आफ्ना सहयोगीमार्फत पत्र पठाएर प्रचण्डलाई ‘सरप्राइज’ दिए । भट्टराईले पार्टी छोडेको कुरा सुनेका आमनागरिक त छक्क परेका छन् भने पत्रमा पार्टी छाडेको कुरा पढ्दा प्रचण्डलाई झन् कस्तो भयो होला ? भट्टराईको निर्णयलाई आश्चर्य र अस्वभाविक भन्दै प्रचण्डले उनी फर्कने आशा गरेपनि भट्टराईले भने आफू अब कुनै हालतमा नफर्कने स्पष्ट पारिसकेका छन् ।

पार्टीमा एउटा दह्रो खम्बाका रुपमा रहेका भट्टराईले छाडेर हिँड्दा एकीकृत माओवादीको भविष्य के होला भन्ने एउटा प्रश्न त छँदैछ । अनि सबैथोक छोडेर हिँडेका भट्टराईको अबको बाटो कता भन्ने चासो पनि सबैलाई छ । पहिलेदेखि नै नयाँ शक्तिको कुरा गर्दै आएका भट्टराईले अब पार्टी खोल्छन् भनेर अनुमान गर्नेहरु धेरै छन् । पार्टी छोडेको घोषणा गर्ने बेला भट्टराईले बाहिर रहेका र स्वतन्त्र व्यक्तित्वसँग सल्लाह गरेर यात्रा तय गर्ने प्रतिक्रिया दिए । तर अबको यात्रामा उनी निकटका नेता मात्र होइनन्, पार्टीको महत्वपूर्ण तहमा रहेकी पत्नी हिसिला यमीले पनि साथ दिने संकेत देखिसकेको छैन । पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा भट्टराई एक्लै थिए ।

भट्टराई आफैंले भनेजस्तो राजनीतिबाट सन्यास लिएर साँच्चै स्वतन्त्र नागरिक बन्न खोजेका होलान् त ? उनलाई नजिकबाट चिन्ने मान्छेलाई यस्तो लाग्दैन । ‘राजनीतिबाट अवकाश लिएर सामान्य नागरिक बन्न बाबुरामले एमाओवादी परित्याग गरेका होइनन्, बरु अझ बढी सक्रियतापूर्वक राजनीति गर्न पार्टी परित्याग गरेका हुन्’ विश्लेषक मुमाराम खनालको तर्क छ ।

तर नयाँ पार्टी खोलेर सक्रियतापूर्वक राजनीति गर्न भट्टराईका लागि अहिलेको समय अनुकूल छैन । संविधान घोषणा भएलगत्तै तराईमा भैरहेको आन्दोलनलाई समर्थन गरेर जस लिन खोजेपनि उनको भावना र प्रतिक्रियालाई मधेसी दलले पत्याएका छैनन् । तराईको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनकपुरमा पुगेर भाषण गर्ने उनको इच्छा समेत मधेसी दलले पूरा हुन दिएनन् । त्यसैले नयाँ शक्तिको आधार खोज्न तराईको जनमत बटुल्ने भट्टराईको प्रयास सफल हुन सकेको छैन ।

पहिले प्रधानमन्त्री भएको बेला चुलिएको लोकप्रियता पनि एकाएक खस्किएको छ । यसअघि भट्टराईलाई आदर्श ठान्ने युवा पनि धेरै चिढिसकेका छन् । खासगरी सामाजिक सञ्जालमा भट्टराईको स्टाटस पढेर निराश हुने जमात बढ्न थालेको छ । फेसबुक र ट्वीटरमा भट्टराईले केही लेख्ने बित्तिकै नकारात्मक टिप्पणी र प्रतिक्रियाको ओइरो लाग्छ । शनिबार ‘मैले किन पार्टी परित्याग गरें’ भनेर राखेको यूट्युवमा पनि भट्टराईले धेरैले आलोचना गरेका छन् । उनको अभियानलाई समर्थन गर्नेको संख्या निकै कम देखिन्छ ।

यसकारण एउटा जग बलियो भएको पार्टी परित्याग गरेर बाटो लागेका बाबुरामलाई नयाँ यात्रा थाल्न त्यति सजिलो छैन । उनले भन्दै आएको ‘नयाँ शक्ति’प्रति यसअघि आशावादी हुनेहरु योबेलासम्म आइपुग्दा निराश भैसकेका छन् । भट्टराईलाई आदर्श ठान्ने युवा जमातको मन पनि फेरिसकेको छ । अनि उनलाई समर्थन गर्दै आएका पार्टी नेता–कार्यकर्ताको आडभरोसा पनि कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा नयाँ पार्टी खोलेर स्थापित हुन बाबुरामले धेरै मेहनत गर्न बाँकी छ । अनि उनले भनेजस्तो स्वतन्त्र नागरिक भएर विकास निर्माणको काम गर्न पनि त्यति सजिलो छैन । पहिले प्रधानमन्त्री भएको बेला सडक फराकिलो बनाएर वाहवाही कमाएजस्तो स्वतन्त्र नागरिकको स्तरबाट हुने कामले सफलता पाउन नसक्ने उदाहरण प्रशस्त छन् ।

बिना उदेश्य घरबाट निस्केर हिँडेका बाबुरामको बाटोमा तँगराहरु प्रशस्त छन् । आफु नयाँ बाटो पहिल्याउन र बनाएर हिँड्नको लागि साथ दिनेहरु पनि देखिंदैनन् । पार्टी निकट नेता र मतदाताले समेत बाबुरामले गल्ती गरे भनिरहेका छन् । सामाजिक सञ्जालमा व्यंग्य गर्नेहरु बढ्न थालेका छन्–‘भीरमा जाने गोरुलाई रामराम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न ।’ सभारः उज्यालो अनलाईन