बिर्सन नसकेको माया (कथा)

Avatar photo
Dhadingpost
सोमवार, साउन ११, २०७२

bhagawati basnetघमाइलो बिहानीमा हाइफा शहर झलमल्ल खुलेको छ । हाइफाको कर्मेल डाँडाबाट छ्याङ्ग समुद्र देखिएको छ । परबाट आउँदै गरेका पानीजहाजहरू लहरै उभिँदा मनमोहक दृष्यहरूले मन लोभ्याइरहेछ । जहाजहरू सामुद्रिक पानीमा ठोक्किएर बग्दा समय यसरी नै एकै ठाँउमा अडिइरहोस् झै लाग्छ । वाताबरण नै मनमोहक बनेको थियो । सबै जना आफ्नो–आफ्नो गन्तब्यतिर लम्कँदै थिए । बूढाबूढीहरू कोही हिटलरले आफूलाई दिएको दुःखहरूको बारेमा, कोही आफ्नै जीवनका कहानी एक–अर्कालाई सुनाइरहेका थिए । म पनि शारासँगै गानको फलैचामा बसेर शारा र जोसेफको कुरा सुन्दै थिएँ ।
शारा ! “आफुलाई नियन्त्रण गर्न सक्ने मान्छे दुःखलाई सजिलै निमिट्यान्न पार्न सक्छ । खुसीको आविस्कार पनि गर्न सक्छ ।” तिमीलाई मेरो साथी हो भन्दा पनि मा गर्वले छाती फुलाउँछु । तिमीले आफ्नो जीवनमा कति धेरै उतार चढाव सहेर पनि तिमी खुसी देखिन्छौ । मान्छेको सबैभन्दा ठूलो सफलता आफुले चाहे जस्तो बन्नु हो । तिमी जस्तो अवस्थाबाट गुज्रिए पनि आफुले चाहे जस्तो बनेकी छौ ।” जोसेफको कुरा नसकिन्दै शारा भन्थी “बलेको आगो सबैले ताप्छन्, निभेको बाल्ने को छ र यहाँ ? स्वार्थको लागि साइनो गाँस्छन्, साँच्चै साथ दिने को छ र ? “म छु नि !” भन्दै जोसेफले शाराको निधार चुम्यो बडो प्रेमले र एक टक हेरिरह्यो । शारा पनि गहभरि आँशु पारेर जोसेफलाई हेरिरही । उनको हेराइमा जोसेफप्रति आभार छताछुल्ल थियो । शारा अगाडि बोल्दै गई, “जोसेफ जीवन एउटा प्रयोगशाला न हो, सबै प्रयोग सफल हुन्छन् भन्ने छैनन् तर प्रयोग गर्ने प्रयास चाहिँ सधै गरिरहनुपर्छ । मैले पनि जीवनका अनेक पलमा अनेक प्रयोग गर्दै अगाडि बढिरहें ।” उनीहरूका जीवनपयोगी कुराहरू सुनेर म अवाक् बन्थें । जोसेफ शाराको बच्चैदेखिको साथी; उसलाई देख्दा शारा अत्यन्तै खुसी हुन्थी । बिस्तारै लन्च समय पनि नजिकिदै थियो । हामी घर फर्कियौं । जोसेफ र सुधा पनि हामीसँगै फर्किए ।
शाराको सुसारे भएर दिनहरू काटेको पनि निकै भैसकेको थियो । सुसारेको मुख्य काम भनेको नियमित रूपमा आफ्नो स्याहार आफैले गर्न नसक्ने वृद्धबृद्धाहरुको स्याहार–सुसाहार गर्नु हो । जसको स्याहार गरिन्छ त्यही व्यक्ति केयरगिभरको मालिक हो । कामको प्रकृति हेर्दा कुनै ठूलो काम गरे जस्तो त लाग्दैन, तर पनि जे–जस्तो काम गरे पनि काम नै हो । बूढाबूढी हेर्ने महत्वपूर्ण र जिम्मेवारीपूर्ण कामले हरपल मानसिक दवाब परिरहन्छ । साथीहरू भन्ने गर्छन्, “घरको काम न हो, गाह्रो हुन्छ र ? तर बूढाबूढीसँग सधैं सँगै बसेर उसको मानसिकतासँग जिउने अभ्यास गरेर बाँच्न कति गाह्रो हुन्छ । बूढाबूढीको कचकचले कति धैरै मानसिक पीडा हुन्छ, त्यो कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । प्रवासको बसाइमा मन खुसी हुदाँ जोसँग म दिल खोलेर हाँस्थें । मन खोलेर कुरा गर्थें, विश्वाश राखेर व्यबहार गर्थें । आफूलाई खुसी राख्ने अनि रमाउने मेरो नजिकको साथी शारा नै थिई । उसको सामीप्यतामा रहेर काम गर्दा हामी दुईको आपसी सम्बन्ध र बुझाइ अनि स्नेह गाढा भइरहेको थियो । सान्निध्य र समर्पणले उसको र मेरो दुवैका मनका भित्ताहरू रङ्गिएका थिए ।
यस्तै सेवामुखी भएर दिनहरू चलिरहेको छ, म शारा को स्याहार–सुसाहारमा लागेको चार वर्ष हुन लाग्यो । उसको स्याहार गर्ने जिम्मा मेरो छ । ऊ अशक्त भएको कारणले मैले ऊप्रति माया, सद्भाव, सत्कार देखाउनु मेरो कर्तब्य हो ।
बेलाबखतमा शाराका छोरा–छोरी भेट्न आउँछन् । चाडपर्वमा छोरा–छोरीकै घरमा खाना खान गइन्छ । कुनै बेला बाहिर रेस्टुरेन्ट पनि गइन्छ । यति नै हुन् फेरबदलका कुराहरू । अरू सबै उही दिन, उही रात, उही शाराको रूप, उही रङ, उही आकृति । कस्तो पट्यार लाग्ने दिनचर्या । यस्तै सोचेर टोलाउँदै थिएँ ।
“आनी रेवा रोचा लेखोल” एक्कासी शाराको मलाई भोक लागेको छ । खाना देऊ, तिमी के गर्दै छौ हँ ? भन्ने प्रश्नले मलाई झस्काउँछ । दिनको दुई बजिसकेको थियो । शारालाई खाना खान दिने बेला पनि टर्न लागेछ । हतार–हतार भान्सामा खाना बनाउन लागे । मन–मस्तिष्कमा अनेक कुरा खेल्छन् । साँच्चै नै मानिस एउटा कलाकार हो । उसले समय–परिस्थितिअनुसार जसरी पनि आफूलाई परिवर्तन गर्छ, चलाउँछ । मनभरी अनेक दुःख लुकाएर पनि साथीभाइसँग भेट हुँदा कति हाँसो–मजाक गरेर संसारको सबैभन्दा खुसी मान्छे देखिन्छ तर जब एकान्तमा हुन्छ अनि उसको मनमा फिल्मका रिल जस्तै एकपछि अर्को गर्दै अनेक कुराहरू खेल्ने गर्दा म पनि आफ्ना कलिला तामाका मुना जस्ता सोनु र समीलाई सम्झदै थिएँ । उनीहरूको मायाले मन विह्वल भएको थियो ।
मेरो इम्पोलोएर शारालाई उसैको नामले बोलाँउदा नै खुशी हुन्छे । हाम्रो नेपालमा उमेर अनुसार नाता जोडने चलन हुन्छ तर यहाँ जतिसुकै बूढाबूढी भए पनि उनीहरूको नामले सम्बोधन गर्दा आफू जवान भएको अनुभव गर्दा रैछन र खुसी हुन्छन् ।
“शारा ! ओखेल मुखान, बोइ लेखोल । खाना तयार भयो, खान आऊ” भनें । टेबलमा राखिएको खाना जसो–तसो थोरै खाइन् ।
“आज के भो तिमीलाई ?” मेरो अँध्यारो मुख देखेर शाराले उठेर सोफामा बस्दै सोधिन् र भनिन्, “म केही गर्न सक्दिन, मेरो कारणले तिमीलाई दुःख भएको छ । म बुझ्छु– तिमीलाई पनि तिम्रो छोरा–छोरी र आफ्नो परिवारको सम्झनामा तड्पिन्छौ, सम्झन्छौ अनि दुःखी हुन्छौ । तिमी त्यसो नगर ल !” मलाई आफ्नो सामीप्यमा टाँसेर धेरैबेरसम्म चुम्बन गर्दै भनिन्, “हेर मान्छेको जीवनमा सुख–दुःख उसको सोचाइ, व्यवहार, कर्म एवम् संयोग र परिस्थितिले निर्धारण गर्दछ । मानिसको व्यक्तिगत जीवनमा हरेक समस्याको जड व्यक्ति आफू स्वयम् हो । आफूलाई सच्याउन सके धेरै समस्या आफै समाधान हुन्छन् । आँखाले सधैं बाहिर देख्ने हुनाले दोष पनि अरूमा नै देखिन्छ तर यथार्थमा दोषी व्यक्ति आफू स्वयं हुन्छ ।”
“कसरी ?” उसको यस्तो कुराले मनमा चोट पर्छ । सम्झन्छु अनि उसलाई प्रश्न गर्छु । ऊ कुरा छल्न खोज्दै भन्छे “यो किनको जवाफ तिमीलाई समयले दिनेछ ।”
तिमी आफ्नो आवश्यकता अनि बाध्यताले कुनै उद्देश्य बोकेर यहाँ आएकी छौ । मान्छेले समयानुसार आफुलाई चलाउन सक्नुपर्छ । वास्तवमा सुखी हुन आफ्नो वरिपरीका मानिसहरूसँग निश्चल रूपमा आपसी प्रेम हुनुपर्दछ चाहे त्यो परिवार होस् वा समाज । मैले बुझ्दा तिमीले जिन्दगीलाई बुझेकी मान्छे छौ झैं लाग्छ । त्यसैले तिमी दुःखी बन्नु हुन्न ल । तिमीलाई मैले आफ्नै परिवारको सदस्य ठानेको छु । तिमी जस्तो सुसारे पाएर म धन्यँ भएको छु । मलाई यति भन्दाभन्दै उसका आँखाहरू रसाएका थिए । मैले यति बेला म उसको सुसारे हुँ भन्ने पनि बिर्सिएँ । मेरी आमाले मलाई सम्झाएको अनुभव गरेर गम्लंग अंकमाल गरें । शाराले पनि अंकमाल गरेर मलाई सुम्सुम्याई । परदेशमा शारा मेरी मालिक्नी र आमा दुवै थिई ।
आज उसका आँखाको निर्निमेष हेराइमा केही लुकेको अनुभव गरें । एक हप्तादेखि ऊ सार्है दुःखी छ । ८७ बर्ष पुगेकी शारा अझै पनि फुर्तिली, धेरै भाषाहरू बोल्न आउने, सबैसँग रवाफ देखाएर बोल्ने तर एक हप्तादेखि ऊ आँफै निरास थिई । उसका छोराछोरी भेट्न आएका थिएनन् । जति बेला पनि “फोन गर न कति बेला आउँछन्” भन्दै दिक्क लाउँथी । उनीहरूले फोन उठाउँदैन थिए । उसलाई फोन उठाएनन् भनेर भन्न पनि सक्दैन थिएँ । कुनै समस्यामा परे होलान् भन्ने लाग्यो । तल्लो फ्ल्याटमा बस्ने उसको साथी जोसेफलाई बोलाएँ अनि उसँग कुरामा भुलाएर फकाउँदै औषधि खुवाएँ ।
ऊ फत्फताउन थाली, “मेरो रोग कुनै औषधिले ठीक पार्दैन । मलाई निको पार्ने औषधि मेरा छोरा छोरीसँग छ । उनीहरूहरूले कुनै खबर ल्याए भने म खुशी हुन्छु ।”
उसले यसो भन्दा म फेरि धेरैबेर घोत्लिएर बसें ।
उसलाई जसोतसो औषधि खुवाएर “उनीहरू आउँदैछन्” भन्दै उसको नजिकै बसेर उसका गाला मुसार्दै सोधें, “छोरा–छोरीलाई भेट्न मात्र त तिमी तड्पिएको होइनौ, के छ विशेष कारण ? म पनि त तिम्रै छोरी जस्तै हो नि !” भनें । यति भन्दा पनि ऊ बोलिन । के खबर होला, कसको खबर सुन्नलाई ऊ यति ब्याकुल छे अनि के भन्न रहेछ भनेर एउटा प्रश्न गरें, “आज तिमीलाई तिम्रो श्रीमान्को याद आएको हो ?”
“याद आएर के हुन्छ र ? याद नआउने भइदिए कस्तो हुन्थ्यो होला है ?” भन्दै मलाई नै प्रश्न तेस्र्याई । ऊ रिस अनि आक्रोश, करूणा, माया सबैले रातो बन्दै लामो श्वास तानेर भन्न सुरू गरी । धेरै लामो कहानी छ । मैले सुन्नलाई उत्सुकता देखाउँदै धेरै कर गरेपछि उसले भन्न थाली, “मेरो बिहे म १८ बर्ष हुँदा सिमोन कोहेनसँग भएको हो । हामी बिहे गर्नुभन्दा पहिलेदेखि नै लिभिंग टुगेदरमा थियौं । करिब ३ बर्ष बिहे नगरी सँगै बस्यौं । हामी एक–अर्कामा राम्ररी परिचित भएर नै विबाह गर्ने निर्णय गरेका थियौ । हामी दुई आपसमा प्रेम–विवाह गरेका हौं । विवाह गरेको केही वर्षमा नै २÷२ वर्षको फरकमा मैले ४ सन्तान जन्माएँ । हामी एक–अर्कालाई एकदमै माया गर्दथ्यौं अनि विश्वास पनि । मेरा हरेक कुराहरूलाई सिमोन सकारात्मकरूपले लिन्थ्यो । मैले उसलाई मायाले सिम भनेर बोलाउँथे । ऊ मलाई सिमु भन्थ्यो । मलाई लाग्थ्यो– यो संसारमा हामी दुईबीच जस्तो माया कसैको छैन । केही गल्ती हुँदा पनि मायाले सम्झाउँथ्यो । साह्रै माया गर्दथ्यो । सबै एकदम राम्ररी चल्दै थियो हाम्रो गृहस्थी । एक्कासि उनी घरमा ढिला आउने बेतकनेसेत (मन्दिर)मा धेरै बेर बिताउन थाले । मैले सोद्धा धेरै बहाना बनाउँथे । शाराको अनुहारमा पीडा र क्षोभका भावहरू दौडिरहेका थिए ।
उनी एक रब (मन्दिरका पूजारी) थिए । सधैं धर्मशास्त्रका कुरा अनि कर्मकाण्डका काम गर्ने यहूदीहरू हामी आफ्नो धर्म–संस्कृतिमा कट्टर हुन्छौं प्रायः जसो दत्तिहरू । हामी पनि दत्ति नै हौं । त्यो तिमीलाई पनि थाहा छ । मलाई हेर्दै भनिन्, “उनीरूले आफ्नो श्रीमतीबाहेक अरूलाई नराम्रो दृष्टिले कहिल्यै हेर्दैनन् । त्यसैले ऊ अरूसँग लाग्ला भन्ने सोचाइ कहिलै आएन …..” शारा गम्भीर भई, उनको गला अवरूद्ध भयो, “तर म गलत साबित भएँ, उनी त अर्कै केटीसँग प्रेममा परिसकेका रहेछन् । मेरो खुसीमा खुसी मिसाई सँगसँगै हाँसिदिने, मेरो पीडामा आँशु मिसाई सँगसँगै रोइदिने, सँगै मर्ने बाँच्ने कसम खानेले, मेरो माया छुटाएर मलाई कसरी एक्लो पा¥यो ?”
म त अकमक्क परें, बोल्ने शब्द नै हराए झैं भयो शाराको एकाएक आएको प्रश्नले । ऊ फेरि भन्दै गई, “तिमीलाई थाहा छ, कोहेनहरूको दोस्रो विवाह गर्न नपाउने हुन्छ । मैले मेरो श्रीमान्लाई कति सम्झाएँ, बुझाएँ, रोएँ, कराएँ तर मेरो कही सीप लागेन । ऊ जसरी पनि त्यही केटीसँग जाने भए । त्यो केटी नभई नबाँच्ने अवस्थामा पुगेपछि मैले केही गर्न सकिँन । सिमोनले त्यो केटीसँग कागजी बिबाह गरेर उसैसँग बस्ने निर्णय लिए ।” उनले थपिन्, “यदि तिमी कसैलाई माया गर्दछौ भने त्यसलाई जान देउ । यदि फर्कन्छ भने ऊ सधैंको लागि तिम्रो थियो, फर्कंदैन भने ऊ कहिले तिम्रो थिएन । टाढा रहे पनि जून तारा हाम्रो हुन्छ । प्रेम जहाँ फुले पनि राम्रो हुन्छ ।” शाराले जीवन भोगाइको निचोडसँगै प्रेममय आदर्शको कुरा गरी ।
मैले उसलाई प्रश्न गरें, “कति गार्हो भयो होला है तिमीलाई एक्लै छोरा–छोरी र घर समाल्न ?” मेरो प्रश्न भुँइमा खस्न नपाउदै ऊ अझ कडा स्वरले भन्न लागी, “के–के मात्र भनेनन् र ? आफ्नो श्रीमान् रूझाउन नजानेकी, राम्रो व्यबहार गरेको भए चार–चारवटा छोरा–छोरी श्रीमती छोडेर जान्थ्यो र ? यही आइमाई नै दुष्ट रे ।” लामो श्वास तानेर शाराले बोली, “जसले जे भने पनि समाजसँग लड्ने, सारा भनाइ र कुरा कटाइलाई सुन्ने, धैर्य चाहिँदो रहेछ ।” शाराको कुरामा समर्थन जनाउदै भनें “हो त नि ।”
“मसँग त्यो थियो नत्र मथिङ्गल रिङ्ग्याउने बचन–वाणहरूले मुटु छिया–छिया पार्ने रहेछ । मभित्र भएको साहस अनि हिम्मतले आफूले आफैंलाई समाल्न सकें ।” शारा पीडा पोखेर बगिरहेकी थिई, “महिलाले आफू भएर एक्लै बाँच्न जहाँ गए पनि गाह्रै छ । बाँच्ने कला सिक्नुपर्छ, बाँच्न जान्नुपर्छ, एउटा लक्ष्य लिएर जिउनुपर्ने रहेछ । एउटा रहर साँच्नुपर्दो रहेछ । यी सबै समय र परिस्थितिले सिकाउने रहेछ । कुरा काट्ने, खुट्टा तान्ने कुबुद्दिका मान्छेहरू समाजमा बग्रेल्ती भेटिने रहेछन् तर हिम्मत र साहस लिएर अघि बढ्दा त्यस्ता नाथे दुःखहरू आफैँ किनारा लाग्छन् ।” यसो भनिरहँदा ऊ निकै जोशिली देखिन्थी । शाराका कुराले मलाई पनि आश्वस्त पारिरहेको थियो ।
“कुरा गरेर नथाक्नेहरू दिन, महिना र वर्षहरू बितेर जाँदा आफैं थाक्छन् र चुप लाग्छन् । लागे पनि, मैले आज यस्ता सबै दिनरू पार गरें ।” ऊ फेरि टक्क अडिई । बिचरा बूढी मान्छे बोलिरहन पनि गार्हो छ उसलाई । मैले पानी पिउन दिएँ । पानी पिएर लामो श्वास तान्दै भनी, “मलाई लाग्थ्यो चोखो मायामा कहिल्यै विछोड हुँदैन । म उसलई चोखो दिल, सफा हृदयले माया गर्थें । ऊ खुसी भएको देख्न चाहें तर केही बर्षभन्दा बढी ऊ त्यो केटीसँग पनि बस्न सकेन । अब ऊ बिलखबन्दमा प¥यो । उसलाई बेतकनेसेतबाट पनि निस्कासन गरिएको थियो किनभने उसले हाम्रो धर्मविरूद्धको काम गरेको थियो । उसलाई धेरै वर्षपछि मात्र मेरो मायाको महसुस भएछ ।”
शाराले लामो श्वास तानी र बोली, “अब त्यो सबै निरर्थक थियो किनभने हाम्रो पारपाचुके भइसकेको थियो । फेरि सम्बन्धमा जोडिने कुरै भएन । जवानीको जोशमा होस् हराउँदा गरेको निर्णयले पोलेको थियो । मेरो मायाले, मेरो व्यवहारले उसलाई मतिर खिचेको थियो सायद । मैले मेरो जवानीका दिनहरू तड्पिएर बिताएँ ।” मलाई ऊप्रति सहानुभूति जाग्यो । उसको कपाल मिलाउदै सहानुभूतिको स्पर्श गराएँ ।
“जब मलाई उसको खाँचो थियो, त्यही बेलामा मैले उसबाट तिरस्कार पाएँ । अब त उसको के चाह ?” शाराको अनुहारमा क्षण–क्षणमा भावका तरंगहरू फेरिइरहेका थिए तर पनि ऊ भन्दैथिई, “मैले मेरो जिन्दगीमा उसलाई बिर्सने कुरै भएन किनभने मेरो सन्तानको बाबु नै उही हो । मेरो ४ सन्तानमा मैले उसैको चित्र देख्थें तर म पनि विवश थिएँ । उसलाई फेरि श्रीमान्को रूपमा स्वीकार गर्नु मेरो स्वाभिमानमा ठेस पु¥याउनु अनि समाजको अगाडि आफू तल झर्नु हुन्थ्यो । तसर्थ, त्यस्तो पुनर्मिलन असम्भव थियो ।”
शाराका कुरा सुन्दा सबै महिलाहरूको पीडा उस्तै रहेछ भन्ने लाग्यो ।
“अरूलाई चोट दिँदा उसले यो बिर्सन्छ, समयले मलाई पनि चोट दिन सक्छ भनेर जून उसले अहिले भोगिरहेको छ । आफ्नो कर्मको भोग सबैले आफूले नै भोग्नुपर्छ तर पनि मेरो भित्री हृदयमा उसकै माया थियो कि मानवता, म भन्न सक्दिन । आजकाल उनी बिरामी भएका छन् भन्ने सुनेकी छु ।” शाराले आफू दुःखी हुनुको कुरा खोली, “त्यहीं भएर छोरा–छोरी आए भने उसको खबर पनि पाउँछु कि भनेर हो । किन किन उस्को खबर थाहा नपाउन्जेल मन अशान्त रहन्छ । उसैको खबर सुन्नलाई मन ब्याकुल रहन्छ । ऊ मेरो पहिलो प्रेम अनि मेरो छोरा–छोरीको बाबा । उसको माया कहिल्यै बिर्सन नसकिने रहेछ ।” शाराको कुरा नसकिदै एक्कासि ढोका खट्खटाएको जस्तो आवाज आयो, हामी दुवैका आँखाहरु शाराका छोरा–छोरी आए की ! भन्ने अपेक्षाले ढोकातिर ठोक्किन पुग्छन् । ढोका खोल्दा त्यहाँ कोही पनि थिएन । बाहिर भने हुरी–बतास जोड–जोडले चल्दै थियो ।
भगवती बस्नेत
बल्खु,काठमाण्डौ
हाल इजरायल
मर्दको मायाँ पुस्तकबाट