धादिङ । विसं २०६८ को जनगणनामा देखिएको भन्दा धादिङ जिल्लाभरमा करिब २० प्रतिशतले घर सङ्ख्या वृद्धि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लाको लापा गाविसमा ६० प्रतिशतसम्म घर सङ्ख्या वृद्धि भएको छ तर सेर्तुङ गाविसमा २२ प्रतिशत घर सङ्ख्या जनगणनाभन्दा पनि कम देखिएको छ । जनगणनाको तथ्याङ्कलाई हेरेर काम गर्दा समस्या आएपछि जिल्लामा राहत वितरणको कार्यसमेत प्रभावित भएको छ ।
लापा गाविसमा २०६८ को जनगणनाअनुसार सबै ८५३ घर भत्केकाले करिब ९०० घरका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न विपद् व्यवस्थापन समितिले गाउँ पठायो तर आधा गाउँलाई वितरण गर्दा नगर्दै सो रकम सकियो । विकट गाउँमा सञ्चारको समेत सुविधा नभएकाले फेरि रकम लिएर आउने जानकारी दिँदै गाउँबाट त्यत्तिकै टोली फर्किएर पुनः राहत रकम लगेर वितरण गर्नुपर्ने अवस्था आयो ।
लापा गाविसमा एक हजार ३६८ घरधुरी रहेकामा ती सबै घर पूर्णरुपमा नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी भोला गौतमले जानकारी दिए । अहिले ६० प्रतिशतले घर सङ्ख्या वृद्धि भएको छ । जनगणनामा राम्रोसँग तथ्याङ्क नराखेको र अहिले घरमा भएका छोरा, बुहारी र श्रीमतीको समेत छुट्टै घर भएको विवरण टिपाएपछि समस्या आएको हो ।
गाउँमा पुर्याइएको राहत धेरै आफैँले लिन एउटै घर फुटाएर धेरै बनाइएको पाइएको छ ।
उत्तरको री गाविसको पनि अवस्था उस्तै छ । गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पुगेको टोलीले एक हजार ११० घरधुरी रहेको री गाविसमा एक हजार ७०१ घर रहेका र ती सबै घरमा पूर्ण क्षति पुगेको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाएको छ ।
सेमजोङ गाविसमा ८१७ घर रहेकामा एक हजार १६९ घर पूर्ण रुपमा क्षति भएको विवरण सदरमुकाममा बुझाएर क्षति मूल्याङ्कन टोली फर्केको छ ।
यो जनगणनाभन्दा धेरै बढी छ । यहीअनुसार जनसङ्ख्या वृद्धि भएको भने होइन ।
जिल्लाको एउटा गाविसमा २०६८ को जनगणनाभन्दा पनि २२ प्रतिशत कम घरधुरी भएको तथ्याङ्क आएको छ ।
उत्तरको सेर्तुङ गाविसमा २०६८ को गणनाअनुसार एक हजार ५३० घर भएकामा एक हजार १८६ मात्र घर रहेको पाइएको छ । यी सबै घर क्षतिग्रस्त छन् ।
साधारणतया पाँच प्रतिशतले मात्र घरधुरी बढ्ने प्रक्षेपण गरिएको भए पनि जिल्लामा ६० प्रतिशतसम्म घरधुरी बढ्दा सरकारी राहत वितरणमा समस्या आएको हो । गाविसभरिका लागि लगिएको राहत एउटै वडामा मात्र वितरण गर्दा सकिएपछि राहत वितरण नै बन्द गरेर थप रकम पठाउनुपरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वासुदेव घिमिरेले जानकारी दिए ।
विसं २०५८ मा धादिङ जिल्लामा ७३ हजार ८४२ घर रहेकामा भूकम्पपछि पूर्णरुपमा क्षति भएका ८१ हजार ३३६ र आंशिक रुपमा क्षति भएका तीन हजार ९१ घरको विवरण जिल्ला विपद् व्यवस्थापन समितिसामु पेस भएको छ । रासस