जस्तापाता नपर्खी स्याउलाको छानो

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १६, २०७२

Dhading-1-445x300राजेन्द्र बस्नेत धादिङ, १३ जेठ – खरी गाविस–६ ढाँडगाउँका प्रेम राना भूकम्पपीडितलाई राहतबापत जस्तापाता किन्नका लागि १५ हजार रुपैयाँ दिने सरकारी निर्णयप्रति बेखबर छैनन् । यद्यपि, उनले सरकारी राहतबापतको १५ हजार रुपैयाँ नपर्खी आफ्नै हिसाबले ओतको व्यवस्था गरिसकेका छन् । सरकारले अस्थायी बासस्थानको छानोका लागि जस्तापाता खरिद गर्न १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
राहतबापतको रकम पर्खिंदा ८ जनाको परिवार बिचल्लीमा पर्ने भएपछि स्थानीय सामग्री (बाँस, कटुसको स्याउला, कमसल जातका काठ, क्षतिग्रस्त घरका पुराना काठ र ढोका) प्रयोग गरी ओत बनाएर उनी घाम, पानी र हावाहुरीबाट सुरक्षित भएका छन् । वैशाख १२ गते गएको महाभूकम्पले घरमा क्षति पुगेपछि उनले अस्थायी बसोबासका लागि छिमेकी सहयोगमा टहरा तयार पारेका हुन् ।
राहतस्वरूप पाएको त्रिपालमुनि केही दिन बिताएको उनले सुनाए । कहिले हावाहुरी, कहिले पानी परेपछि उनलाई परिवारको चिन्ताले सताइरह्यो भने, “लामो समयसम्म त्रिपालले नथेग्ने र परिवारको बिचल्ली हुने देखेर छरछिमेकमा सल्लाह गरेर पालै–पालो अस्थायी टहरा बनाउने निधोमा पुगें । पालै–पालो टहरा बनाइरहेका छौं,” उनले भने ।
उनी मात्र होइन, गाउँका अधिकांश भूकम्पपीडित अस्थायी बसोबासका लागि १५ हजार नगदका लागि सरकारको मुख नताकी कटुसको स्याउलाले छाएर टहरा निर्माणमा लागेका छन् । स्थानीय गिरेन्द्र रानाले पनि बाँसको भाटा ठोकेर कटुसका स्याउलाले छाएको लोभलाग्दो घर तयार पारेका छन् । गिरेन्द्र ५ जनाको परिवारलाई यो बर्खा यही सानो कटेरोमा बिताउने तयारीमा छन् ।
“ठूलो घर बनाएर काम रहनेछ, अझै झड्का हान्न छाडेको छैन,” उनले भने, “आज बनायो भोलि लडाउन पनि सक्छ । के गर्नु यो बर्खा कटाउनुप¥यो ।”
६० वर्षीया लक्ष्मी थापा अस्थायी टहराको भित्तो पोत्न व्यस्त भेट्टिइन् । केही दिनअघि बनाएको टहरा सिँगार्ने कामले एकछिन फुर्सद नरहेको उनले सुनाइन् । “कतिखेर यो घर तयार पारौंला र आनन्दसँग बसौलाजस्तो भएको छ,” उनले भनिन् । उनीजस्ता अन्य महिला टहरा छाउने स्याउला खोज्ने र घर लिपपोत गर्ने काममा व्यस्त छन् ।
यस गाउँमा भूकम्पबाट नढलेका घर पनि बस्नलायकका छैनन् । त्यस्ता घर चिरा–चिरा परेका छन् । कोही घरभित्र पस्न सकेका छैनन् । बालबच्चा र वृद्धवृद्धालाई त्रिपालमुनिको बास असहज भएको छ । घरभित्र पस्न डर लाग्ने भएपछि अहिले गाउँका सबै मिली अस्थायी टहरा बनाउन जुटेको एकबहादुर रानाले बताए ।
“अहिले नै एकैचोटी सबैका घर बनाउन सम्भव छैन,” उनले भने, “त्यसैले आलोपालो गरेर पुनर्निर्माणमा जुटेका छौं ।”
कारोवार दैनिक