राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन कलेजमा २५ जना सभासद को को छन्

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १३, २०७१

manmohan-sabhasadधादिङ चैत्र १३ गते । नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा धादिङका सभासद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेजमा १४५ जना भन्दा बढी एमालेका सभाषदहरुको लगानी रहेको पाईएको छ । एमालेका २५ सभासदले आफ्नै नाममा मनमोहन मेडिकल कलेजमा लगानी गरेका छन् अन्यले आफन्तको नाममा लगानी गरेको देखिन्छ ।
को- को हुन् सञ्चालक ? कुन कलेज निकट कुन दल ?
मनमोहन मेमोरियलका ७० भन्दा बढी सेयरधनीमध्ये अधिकांश एमाले नेता र एमालेनिकट चिकित्सक छन्। एमाले केन्द्रीय सदस्य तथा सभासद राजेन्द्र पाण्डे अध्यक्ष रहेको यो कलेजमा डा. वंशीधर मिश्र, जीवन शर्मा, रामकुमार अधिकारी, केपी सिम्खडा, माणिकलाल मानन्धर, डा. जागेश्वर गौतम, सोमनाथ अर्याललगायत सेयरधनी छन्। त्यस्तै, आइओएमकै चिकित्सक प्रदीप ज्ञवाली र वशिष्ठ रिजाल पनि सेयरधनी छन्।
काठमाडौं नेसनलमा जयरुद्दिन अन्सारी र वसिरुद्दिन अन्सारी प्रमुख सञ्चालक छन्। यी दुवै माओवादी निकट हुन्। वसिरुद्दिन त माओवादीबाट पर्साका उम्मेदवारसमेत थिए।
त्यस्तै, नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका सुनील शर्माले आफ्नी श्रीमती र दिदीका नाममा पिपल्स डेन्टलमा सेयर राखेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालको संरक्षणसमेत प्राप्त उनी अहिले प्रधानमन्त्री सुशील कोइराला निकट छन्।
चालु मेडिकल कलेजमा पनि नेताहरूको उपस्थिति बाक्लो छ। केही वर्षअघि गण्डकी मेडिकल कलेजमा लगानी गरेका खुमा अर्याल कांग्रेस सदस्य हुन्। उनी संविधानसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवार थिए। अर्यालले गत वर्ष मात्र युनिभर्सल मेडिकल कलेज, भैरहवा किनेका थिए भने नेपालगन्ज मेडिकल कलेजमा समेत २० प्रतिशत सेयर किनेका छन्।
काठमाडौं विश्वविद्यालयबाट भर्खरै सम्बन्धन पाएको विराट मेडिकल कलेजका ज्ञानेन्द्र कार्की अख्तियार प्रमुख लोकमानसिंह कार्कीका आफन्त हुन् भने देवदह मेडिकल कलेजका सञ्चालकहरू रजनीश जिन्दाल, निलकण्ठ काफ्ले र हिमलाल ज्ञवाली माओवादी नेता बाबुराम भट्टराई निकट छन्। भट्टराईले आफू प्रधानमन्त्री हुँदा देवदहलाई सम्बन्धन दिलाउने प्रयास गरेका थिए। यसको सम्बन्धनमा अनियमितता भएको भन्दै अख्तियारले अनुगमनमा संलग्न मेडिकल काउन्सिल तथा केयु पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेजका डा. सुरेश कनौडिया त नेपाली कांग्रेसका समानुपातिक उम्मदेवार नै बनेका व्यक्ति हुन्।
पहिले मेडिकल कलेजमा राजनीतिक व्यक्तिको यति धेरै उपस्थिति थिएन। व्यापारिक पृष्ठभूमिका लगानीकर्ता नै बढी थिए। तर, गुणस्तर कमजोर भएपछि कलेज सम्बन्धनमा प्रश्न उठ्न थाल्यो। थप कलेज खोल्न दिन नहुने वकालत सुरु भयो। यही कारणले राजनीतिक प्रभाव दुरूपयोग गर्न नेताहरूलाई समेत भागीदार बनाउने खेल सुरु भएको हो।
राजनीतिक दलका नेतालाई दाहिना बनाउन चन्दा खुवाउनुभन्दा उनीहरूलाई नै हिस्सेदार बनाए परिआउँदा राजनीतिक संरक्षण प्राप्त हुने कलेजका सञ्चालक बताउँछन्। झापामा प्रस्तावित बिएन्डसी मेडिकल कलेजमा समेत माओवादी नेताहरूको संरक्षण छ। सञ्चालन स्वीकृतिसमेत नलिएको यो अस्पताल केही साताअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए।
नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष डा. महेश खकुरेल कम समयमा हुने उच्च नाफाका कारण गैरस्वास्थ्य क्षेत्रका लगानीकर्ता मेडिकल कलेज खोल्न आकर्षित भइरहेको बताउँछन्। सेना र प्रहरीको समेत यस्तो व्यवसायमा भएको उपस्थितिले पैसा भएकाहरू सबैलाई मेडिकल कलेज खोल्न थप बल पुर्यााएको उनको भनाइ छ।
‘एकताक घरजग्गा कारोबारको जस्तो हाई–हाई थियो, मेडिकल कलेजको स्थिति त्यस्तै छ,’ शिक्षण अस्पतालका पूर्वनिर्देशकसमेत रहेका डा. खकुरेलले भने, ‘पाइलैपिच्छे पैसा खुवाएर पूर्वाधारबिनै कलेज खोल्न सकिने भएपछि लोभीपापीहरूको बिगबिगी बढेको छ।’