गुहाटी, फागुन २९ – विश्वकप २०१८ को प्रारम्भिक छनौट खेलको पहिलो लिगमा नेपाल भारतसँग २–० गोलले हारेको छ । भारतको गुवाहटीस्थित इन्दिरा गान्धी एथ्लेटिक स्टेडियमा हिजो साँझ भएको खेलमा नेपालले हारेको हो । । खेलको पहिलो हाफ गोलरहीत बराबरीमा रोकिएपनि भारतले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । दुवै गोल सुनिल क्षेत्रीले गरेका थिए ।
खेलमा भारतले अझै गोल गर्न सक्थ्यो तर खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीलाई क्षेत्रीले गोलमा परिणत गर्न सकेनन् । सन्दीप राईले केभिन लोबोलाई लडाएपछि भारतले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले सेभ गरे ।
नेपालले खेल अवधिभर एक मात्र राम्रो प्रयास गरेको थियो । बिमल घर्ती मगरले फ्रिकिक मार्फत गरेको प्रहार भारतका गोलकिपरले बचाउ गरेका थिए । नेपालले भारतलाई पछिल्लो पटक गत भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा २-१ ले हराएको थियो ।
प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते काठमाडौंमा हुनेछ ।