धादिङबेसी । एमाओवादी सहितको ३० दलिय मोर्चाले भोली धादिङ जिल्लाका विभिन्न सार्वजनिक स्थलहरुमा कालो झण्डा गाड्ने कार्यक्रम रहेको बताएको छ । ३० दलिय मोर्चाका कार्यकर्ताहरुलाई आ–आफ्नो पायक पर्ने स्थलहरुमा कालोझण्डा गाड्न एमाओवादीका केद्रिय सदस्य पुष्पविक्रम मल्लले निर्देशन दिनु भएको हो । आन्दोलनलाई प्रभावकारी बनाउन आजै एमाओवादी आन्दोलन परिचालन समिति धादिङको वैठक सम्पन्न गरेको छ ।
एकीकृत नेकपा माओवादीको केन्द्रिय कार्यक्रम अनुसार आज धादिङमा जिल्लाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । एकीकृत नेकपा माओवादी धादिङले आयोजना गरेको कार्याकर्ता प्रशिक्षणमा एमाओवादीका पोलिटव्यूरो सदस्य हितबहादुर तामाङ, केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल लगायतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यकर्ता प्रशिक्षण कार्याक्रममा एकीकृत माओवादीका पोलिटव्यूरो सदस्य हितबहादुर तामाङले पार्टीले आन्दोलनका लागि तयारी गरेको तीन चरणको आन्दोलनबारे जानकारी गराउनुभएको थियो ।
पार्टी कार्याकर्ताहरुलाई प्रशिक्षण दिनुहुँदै नेता तामाङले एकीकृत माओवादीले पहिलो चरण– भण्डाफोर तथा खवरदारी अभियान, दोस्रो चरणमा क्रियात्मक आन्दोलन र तेस्रो चरण– निर्णायक आन्दोलन गर्ने तयारी गरेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै एकीकृत माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लले एमाओवादीले भन्दै आएको पहिचान सहितको सङ्घीयता जातीय राज्य नभएको स्पष्ट पार्नुभयो । उत्पीडनमा परेका जाति÷समुदायको अधिकार र मुक्तिको पक्षमा आफूहरुले आवाज उठाएकोले सबैको साझेदारीमा आन्दोलन गर्न लागिएको बताउनुभएको थियो ।
एकल जातीय राज्यलाई सबै जातिको साझेदारी भएको सङ्घीय राज्यमा बदल्ने र उत्पीडित राष्ट्रियताहरूलाई कदर गर्ने र बलियो पार्ने कुरा नै आफूहरुको आन्दोलनको ध्येय भएको एमाओवादी धादिङका उपाध्यक्ष राजु नेपालले बताउनुभयो ।
कार्यक्रममा एमाओवादीका नेताहरुले जनादेश विपरित काङ्ग्रेस र एमालेले गणितीय आधारमा पहिचान बिहीन सात प्रदेशको खाका सहितको संविधान जारी गर्ने षड्यन्त्र गरेको बताएका थिए । आफूहरु जनताको सथमा आन्दोलनान जाने र आवश्यकता परे जस्तोसुकै परिस्थिति सामना गर्न समेत तयार भएको एमाओवादी नेताहरुले बताएका थिए । कार्यकर्ताहरुलाई आगामी दिनमा हुनसक्ने सम्भावित आन्दोलनका विषयमा चर्चा गर्दै नेताहरुले सबै कार्यकर्ताहरुलाई गाउँ गाउँबाट तयारी गरेर आन्दोलनमा आउन समेत निर्देशन दिएका थिए ।