एकै विद्यालयका १८ जनाले एसएलसी दिन नपाउने

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

नारायण सिलवाल/अर्जुन खतिवडा हर्कपुर बेनिघाट।
बेनिघाट–३ धादिङमा रहेको हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले विद्यालयका प्रधानाध्यापकको लापरवाहीका कारण यस वर्षको एसएलसी परीक्षा दिन नपाउने भएका छन् ।
विद्यालयले दश कक्षाको अनुमति नपाउँदै विद्यार्थी भर्ना लिई पढाएपछि विद्यार्थीहरुले एसएलसी परीक्षा दिन नपाउने भएका हुन् । गत वर्ष पनि उक्त विद्यालयका ३० जना विद्यार्थीलाई चन्द्रोदय मावि विशालटार उमावि मार्फत एसएलसी परीक्षाको फारम भरी परीक्षा दिन लगाईएको थियो ।
यस वर्ष पनि विद्यालयले १८ जना विद्यार्थीलाई एसएलसी परीक्षा अफ्नै विद्यालयबाट दिन पाउनेछौं भन्दै रजिष्ट्रेशन फर्म नभरी बसेपछि विद्यार्थीहरुले परीक्षा दिन नपाएका हुन् ।
विद्यालयले मावि कक्षा संचालनको लागि स्वीकृति पनि नपाउनु र छिमेकी विद्यालयबाट रजिष्ट्रेशन फारम भर्न पनि विद्यालयले ढिला गर्नुले विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
1 copyविद्यालयमा कक्षा १० मा अध्ययनरत गोकुल सुनारले एसएलसीको परीक्षा दिन नपाउँदा आफूहरुको वर्ष दिन भन्दा बढीको मेहनत खेर गएको बताए । एसएलसी परीक्षाको तयारी गर्दै रातदिन पढाईलाई नै समय खर्चेका उनले एसएलसी दिन नपाउँदा निकै निराश देखिन्थे । हेडसरले तिमीहरुलाई एसएलसी परीक्षामा सहभागि हुने वातावरण बनाउँछु भन्दै अर्को विद्यालय जानबाट रोकेको समेत उनको भनाई थियो ।

2 copyत्यसैगरी अर्का विद्यार्थी नरबहादुर मगरले प्रधानाध्यापक पहलमान श्रेष्ठले आफुहरुको भविष्यमा खेलवाड गरेको बताए । हेडसरकै भर परेर अरु साथीहरु टाढाको विद्यालय पढ्न जाँदा समेत आफुहरु उक्त विद्यलयमा पढिरहेको उनका भनाई थियो ।
3 copyविद्यालय अभिभावक खुमरी कान्छा मगरले विद्यालयको सिंगो जिम्मा लिएका प्रधानाध्यापकको लापरवाहीको कारण कक्षा १०का विद्यार्थीहरुले परीक्षाबाट बञ्चित हुनुपरेको बताए । त्यसैगरी नाम सार्वजनिक नगर्ने शर्तमा बेनिघाट ३ गौमतीकी अर्का एक महलिा अभिभावकले आफूहरुले पटक–पटक भन्दा समेत हेडसरले पर्खन र आफूले जसरी भए पनि परीक्षा दिने वातावरण तयार गर्ने बताएको बताइन् ।
1उता विद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठले राजनीतिक खिचातानीको कारण आफूले काम नगरेको बताए ।
सबै अभिभावकहरुले आफ्नै विद्यालयबाट एसएलसी परीक्षा दिनका लागि काम गर्ने भनेर अन्य विद्यालयमा फारम भर्न जान नदिएको उनले आरोप लगाए ।
उता विद्यालय स्रोत व्यक्ति बसन्तराज सिलवालले विद्यालय प्रसाशनका हिसावले विद्यालयको सम्पूर्ण जिम्मा प्रधानाध्यापकले लिनुपर्ने बताए । आफूले विद्यालयका प्रधानाध्यापकलाई पहिलेदेखी नै समस्या आउनसक्ने जानकारी दिएको भए पनि काम नगरेको भन्दै स्रोत व्यक्ति सिलवालले सम्बन्धीत पक्ष प्रधानाध्यापक कमजोरीबाट भाग्न नमिल्ने बताए । दलित र जनजातिको वाहुल्यता रहेको हर्कपूर मा.वि. वि.स.२०३२ सालमा स्थापित भएको थियो ।