माघ ९ सेमजोङ । सेमजोङ गाउँ विकास समितिमा रहेको ऐतिहासिक क्षेत्र डपजोङ दरबार क्षेत्रमा स्थानीयहरुले सरसफाई तथा पुजापाठ सम्पन्न गरेका छन् ।
डपजोङ दरबार क्षेत्र संरक्षण युवा क्लब र सेमजोङ ५ का स्थानीयवासीहरुको सक्रियतामा सो ऐतिहासिक क्षेत्रको सरसफाई गरी पूजापाठ गरिएको हो । दरबार परिषरमा गरिएको सरसफाई तथा पूजापाठ कार्यक्रममा स्थानीय लामा गुरुहरु, वृद्ध, युवा तथा स्थानीय समाजसेवीहरुको समेत सहभागि रहेको थियो ।
बाईसे चौविसे राज्यका वेलामा तामाङ वाईवा राजाले राज गरेको हुनाले दरबार क्षेत्रको ऐतिहासिक महत्व रहेको स्थानीय समाजसेवीहरुले बताउँदै आएका छन् । धार्मिक अस्तित्व, जातिय पहिचानका लागि दरबार क्षेत्रको संरक्षण गर्ने गरिएको उनीहरुको भनाई छ । वर्षको एक दिन सोनाम ल्होसारको अवसरमा सो क्षेत्रको सरसफाई र पूजापाठ गर्ने प्रचलन रहेको स्थानीय समाजसेवी उर्मिला तामाङले बताउनुभयो ।