एमाओवादीको नेतृत्वमा आयोजना गरेको आम हड्ताल धादिङमा शान्तिपूर्ण

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ६, २०७१

माघ ६ धादिङवेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३६ दलले गरेको बन्दको कारण आज दिनभर धादिङको जनजिवन दिनभर प्रभावित रह्यो । एकीकृत नेकपा माओवादी सहित विभिन्न ३६ राजनीतिक दलहरुले आयोजना गरेको बन्दका कारण विहानदेखी नै धादिङवेसी तथा सो आसपासका सबै बजार बन्द रहेका थिए । विभिन्न जिल्लाहरुमा बन्दको विरोधमा विभिन्न राजीतिक दलहरुको नेतृत्वमा बन्दको प्रतिकार गरिएको भए पनि धादिङमा भने त्यस्तो कुनै अप्रिय घटना घटेको छैन । बिहानैदेखी बन्द रहेको सदरमुकाम दिउसो ४ बजे बन्द खुलाएको घोषणा गर्नुहुँदै एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले सदियौं वर्षदेखी नेपाली जनताले गरेको लगानी गुम्ने स्थिति आएपछि आन्दोलनमा जानुपरेको बताउनुभयो । एमाओवादीले माग गरेको सहमतिको संविधानलाई काँग्रेस एमालेले लत्याउने प्रयास गरेको नेता भण्डारीको दावी थियो । एमाओवादीले दिगो शान्ति र संविधान प्रप्तिको लागि गरको आन्दोलनमा आम धादिङवासीहरुले सहयोग गरेको प्रति नेता भण्डारीइले धन्यवाद समेत दिनुभएको थियो । एमाओवादीले जनपक्षिय संविधानको लागि गरेको सेना समायोजनदेखी हतियार व्यवस्थापनसम्मको कामलाई सम्झन समेत उहाँले सत्ता साँझेदार दलहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा–माओवादीका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज शिव श्रेष्ठले माओवादी आन्दोलनलाई सानो नसोच्न चेतावनी दिनुभयो । नेपाली माओवादीहरुले शान्ति र संविधानको लागि १० वर्षे जनयुद्ध तथा अन्य आन्दोलनहरुमा धेरै ठूलो लगानी गरको बताउनुहुँदै उहाँले शान्ति र संविधानको एजेण्डा बोकेको माओवादीलाई पाखा लगाए देश दुर्घटनातर्फ जाने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व सभासद तथा एकीकृत नेकपा माओवादी धादिङका कोषाध्यक्ष विरबहादुर तामाङले सदियौंदेखी उत्पीडनमा परेका तामाङ समूदायको मुक्तिको लागि आफूहरु निरन्तर लागिरहने बताउनुभयो । एमाओवादीले प्रस्ताव गरेको संघियताको मोडेलमा तामाङ समूदायको हित भएको दावी गर्नुहुँदै पूर्व सभासद् तामाङले एमाले काँग्रेसको सरकार तामाङ समूदायको विरुद्धमा लागेकोले आम तामाङ समूदाय एक भएर लड्ने बताउनुभयो । तामाङ समूदायको भलो नसोचेको भन्दै एमाले काँग्रेस लगायतका दलहरुलाई उत्पिडीत जाजजाति भाषा क्षेत्र तथा आम नेपालीहरुको आत्मसम्मान हुने संविधान मात्र आफूहरुलाई मान्य हुने बताउनुभएको थियो । दिउसो ४ बजेपछि बन्द खुलेपछि एमाओवादी सहितको ३६ दलले आगामी कार्यक्रम केन्द्रको निर्णय अनुसार अघि बढाउने जानकारी दिएको छ ।