नेपाल बन्द गर्न तीनवटा मोर्चाको एउटै तयारी

Avatar photo
Dhadingpost
बुधबार, पुस ३०, २०७१

काठमाडौं, पुस ३० । एमाओवादी नेतृत्वको रहेको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वले फरक फरक समयमा गरेको आन्दोलनको घोषणाले नयाँ रुप लिएको छ । एकीकृत नेकपा माओवादी र मोहन बैद्यसंग पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले मोर्चाबन्दी गरेर संयुक्त रुपमा आन्दोलन गर्ने भएपछि आन्दोलनले नयाँ रुप लिएको हो ।

पद्मरत्न तुलाधर नेतृत्वको आदीवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले पनि आदीवासीहरुको अधिकार प्राप्तिको लागि आन्दोलन गर्ने भएपछि बैद्य माओवादीले ३ गते र एकीकृत माओवादीको नेतृत्वमा ३० दलले ५ गते गर्ने भनिएको नेपाल बन्दको आह्वान फिर्ता लिएर संयुक्त रुपमा ६ गते बन्द आह्वान गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरसहितका नेताबीच बुधबार भएको छलफलमा बन्द एकै दिन बनाउने सहमति भएको छलफलमा सहभागि एक नेताले बताए ।
यसअघि बैद्य माओवादीले माघ ३ गते र ३० दलीय मोर्चाले माघ ५ गते नेपाल बन्द आह्वान गरेका थिए । ३० दलीय मोर्चाको मंगलबार बेलुका बसेको बैठकमा पनि बन्द र हड्तालले जनतामा मर्का परेको र सत्तापक्षले यसमा खेल्न खोजेको विश्लेषण गरिएको थियो ।

३० दल, वैद्य माओवादी र आदिवासी आन्दोलन समितिबीच संयुक्त आन्दोलन गर्न सहमति भएको छ । यसका लागि एउटै कमिटी बनाएर अघि बढ्न नेताहरु सहमत भएको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

यसअघि आन्दोलनकारी पक्षहरुबीच भएको छलफलमा प्रचण्डले संयुक्त राष्ट्रिय आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि आन्दोलनकारीहरुको एउटै हेडक्वार्टर बनाउने र युवाहरुको प्रतिरोध दस्ता बनाउने प्रचण्डको प्रस्ताव थियो । प्रचण्डले गरेको प्रस्तावमा मोहन बैद्य किरण सहमत भएपछि आ–आफ्ना तरिकाले गरिएको बन्द तथा आन्दोदलनका कार्यक्रमहरु एकै ठाउँमा बसेर गर्ने गरी होमवर्क भएको नेताहरुले बताएका छन् ।