पशु स्वाथ्यका लागि आवश्यक औषधी सहयोग गरियो

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

नीलकण्ठ । नीलकण्ठ नगरपालिका वडा नं. ७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा संचालित एनेक्स कार्यक्रमलाई काठमाण्डौ त्रिपुरेश्वर स्थित कान्तिपुर भेट डिस्टिब्युटर्सले विरामी पशु पंक्षिहरुको उपचारका लागि (भेटेरीनरी) औषधी सहयोग गरेको छ ।
vitaaaaaaa

धादिङवेसी विचबजारमा रहेको स्वावलम्बी एग्रोभेट संचालक रामशरण अधिकारीको पहलमा कान्तिपुर डिस्टिब्युटर्सका प्रतिनिधि विनय ढकाल र गोकुल विसुरालले आइतबार विद्यालयमा नै पुगेर औषधी वितरण गरेको विद्यलयका एक शिक्षकले बताए ।
धादिङ जिल्लामा एउटा मात्रै भेटेरीनरी प्राविधिक विद्यालय भएको र आफू पनि अध्ययन गरेको विद्यालय भएकोले आफूले दाताको खोजी गरी विद्यालयलाई सहयोग गर्न आग्रह गरेको धादिङवेसी स्थित स्वावलम्बी एग्रोभेट संचालक रामशरण अधिकारीले बताए ।
समय समयमा व्यापारीक सिलसिलामा जिल्ला आउने औषधी विक्रेताहरुसंग कुरा गर्दा त्रिपुरेश्वर स्थित कान्तिपुर डिस्टिव्युटर्सले सहयोग गर्न तयार भएको अधिकारीको भनाई छ । आफूले धेरैजनासंग विद्यालयलाई सहयोग गर्न आग्रह गरेको बताउँदै अधिकारीले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्न आफू तयार रहेको समेत बताए ।

उता कर्णेश्वर माध्यमिक विद्यालय एनेक्स कार्यक्रमका प्रशिक्षक डा. विनोदकुमार यादबले विद्यालयलाई सहयोग गर्ने कान्तिपुर डिस्टिब्युटर्सप्रति आभार प्रकट गर्नुभएको छ । विद्यालयलाई सहयोग भएको सबै प्रकारका औषधीहरु सहि सदुपयोग गरिने डा यादबले बताए । विरामी पशुहरुको उपचार गराउन त्यस प्रकारको सहयोगले निकै राम्रो प्रभाव पारेको डा.यादवको भनाई छ । पशुलाई स्वस्थ बनाउनका लागि र विरामी पशुहरुको उपचारका लागि आवश्यक पर्ने औषधीहरु जस्तै जुका, नाम्ले विरुद्धको औषधी, कलेजोको औषधी, भिटामिन, क्याल्सियम, पाचन प्रणालीको लागि आवश्यक औषधीहरु, तथा पशुहरुमा हुनसक्ने घाउका उपचारमा प्रयोग हुने औषधीहरु विद्यालयलाई सहयोग भएको र स्थानीय जनताका पशुहरु विरामी पर्दा, विद्यालयले संचालन गरेको स्वास्थ्य शिविरहरु तथा विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका क्रममा ती औषधीहरुको प्रयोग गरिने डा. यादवले बताएका छन् ।

सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत केही औषधी सहयोग गरिएको थियो ।
बेलाबेलामा गर्न सकिने साना सहयोगहरुले विद्यार्थीहरुको पढाईको गुणस्तरमा बृद्धि गर्न सकारात्मक भूमीका खेल्ने भएकाले आफूहरुले केही औषधीहरु विद्यालयलाई सहयोग गरेको काठमाण्डौ, त्रिपुरेश्वर स्थित कान्तिपुर भेट डिस्टिव्युटर्सका एक प्रतिनिधिले बताए ।